काठमाडौं - मधेस प्रदेशमा एमालेबाट सरकारमा रहेका मन्त्रीहरूले राजीनामा बुझाएका छन्। 

मुख्यमन्त्री सरोजकुमार यादवसमक्ष राजीनामा बुझाएसँगै नेकपा एमाले मधेस सरकारबाट बाहिरिएको छ। तर, एमालेले सरकारलाई दिएको समर्थन भने फिर्ता नलिने जनाइएको छ। 

एमाले मधेस प्रदेश संसदीय दलका नेता एवं भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादवले सरकारमा सहभागी चार मन्त्री र एक राज्यमन्त्रीले राजीनामा दिएको बताए। 

केन्द्रमा एमालेसँग गठबन्धन टुटेपछि मुख्यमन्त्री यादवले एमालेका मन्त्रीहरुलाई सरकारबाट हटाएका हुन्। गठबन्धनमा फेरबदल भएलगत्तै सरकार परिवर्तनको काटछाट देखिएपनि बारा-२ को उपनिर्वाचनमा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई एमालेले सहयोग गर्ने आशमा मुख्यमन्त्री मौन बसेका थिए। तर, सो क्षेत्रबाट एमालेका उम्मेदवार पुरुषोत्तम पौडेलले समेत उम्मेदवारी दर्ता गराएपछि मन्त्रीहरूलाई सरकारबाट बर्खास्त गरिएको हो। 

मधेस सरकारमा एमालेबाट भौतिक पूर्वाधार विकासमन्त्री सरोजकुमार यादव, महिला, बालबालिका, युवा तथा खेलकुदमन्त्री मोहम्मद जयद आलम, गृह तथा सञ्चारमन्त्रीमा शत्रुधन प्रसाद सिंह, कानुनमन्त्रीमा राजकुमार लेखी र गृह तथा सञ्चार राज्यमन्त्रीमा पदमा केशव राय सहभागी थिए। 

मुख्यमन्त्री यादवले पाँचै जना मन्त्रीको राजीनामा स्वीकृत गर्दै उनीहरूले सम्हालेको मन्त्रालयको कार्यविभाजनसमेत गरेका छन्।