काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सातौं पटक मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् ।
प्रधानमन्त्री प्रचण्डले दस दलीय गठबन्धनबाट शुक्रबार दस जना मन्त्रीलाई नियुक्त गरेका हुन्। जसअनुसार नेपाली कांग्रेसबाट उपप्रधान तथा रक्षामन्त्रीमा पूर्णबहादुर खड्का, अर्थमन्त्रीमा डा. प्रकाशशरण महत, उद्योग, वाणिज्य तथा आपूर्तिमा रमेश रिजाल र सहरी विकासमा सीता गुरुङ नियुक्त भएका छन्।
त्यस्तै माओवादीबाट शक्तिबहादुर बस्नेत ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री नियुक्त भएका छन्। त्यस्तै भौतिकमा रहेका उपप्रधान मन्त्री नारायणकाजी श्रेष्ठलाई गृह मन्त्रालयको जिम्मेवारी तोकिएको छ भने माओवादीका अन्य मन्त्रीको पद यथावत राखिएको छ।
त्यस्तै नेकपा एकीकृत समाजवादीबाट डा. बेदुराम भुसाल कृषि तथा पशुपन्छी विकास र प्रकाश ज्वाला भौति पूर्वाधार तथा यातायात मन्त्री नियुक्त भएका छन्।
त्यस्तै जसपाबाट अशोक राई शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री, लोकतान्त्रिक समाजवादीबाट शरतसिंह भण्डारी श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, नेपाल समाजवादीबाट महिन्द्र राय यादव महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री, नागरिक उन्मुक्तिबाट रञ्जिता श्रेष्ठ भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री नियुक्त भएका छन्।
यसअघि माओवादी केन्द्रबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्मा, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, संस्कृत पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किराँती, संस्कृत राज्य मन्त्री सुशीला श्रीपाली छन् ।
यसैबीच खानेपानी मन्त्री अब्दुल खानले प्रधानमन्त्रीसमक्ष राजीनामा बुझाएका छन्। उद्योग मन्त्रालय नपाएको भन्दै जनमतका उपाध्यक्षसमेत रहेका खानले बालुवाटार पुगेर राजीनामा बुझाएका हुन्।
सत्तारुढ दलहरूबीच ठोस सहमति जुट्न नसक्दा अझै ६ मन्त्रालय प्रधानमन्त्रीले सम्हाल्नुपर्ने भएको छ । खानेपानी तथा सरसफाई मन्त्रालयसँगै प्रधानमन्त्री प्रचण्डले परराष्ट्र, स्वास्थ्य तथा जनसंख्या, युवा तथा खेलकुद, कानुन न्याय तथा संसदीय मामिला र वन तथा वातावरण मन्त्रालय सम्हाल्नुपर्ने भएको छ ।
वन तथा वातावरण मन्त्रालय जनता समाजवादी पार्टीलाई परेपनि उसले नाम पठाउन सकेन । जसपाले शिक्षा मन्त्रीका रुपमा अशोक राईलाई पठाएको छ ।
कांग्रेसको भागमा परेको आठमध्ये चारजनाले मात्रै मन्त्रीका रुपमा शपथ लिएका छन् । शेखर कोइराला समूहले असन्तुष्टि जनाएपछि मन्त्रीको नाम पठाएन ।
दोस्रो वरियतामा पूर्णबहादुर खड्का
राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिअनुसार प्रधानमन्त्रीपछि दोस्रो वरियतामा उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्का रहेका छन्। त्यसपछि मात्रै उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ रहेका छन्।
त्यस्तै चौथो वरियतामा कृषिमन्त्री डा. बेदुराम भुसाल, पाँचौंमा शिक्षामन्त्री अशोककुमार राई, छैटौंमा श्रममन्त्री शरतसिंह भण्डारी, सातौंमा अर्थमन्त्री प्रकाशशरण महत र आठौंमा महिला बालबालिकामन्त्री महिन्द्र राय यादव रहेका छन्।
त्यस्तै नवौंमा ऊर्जामन्त्री शक्तिबहादुर बस्नेत, दसौंमा सञ्चारमन्त्री रेखा शर्मा, एघारौंमा पर्यटनमन्त्री सुदन किराँती, बाह्रौंमा सामान्य प्रशासनमन्त्री अमनलाल मोदी, तेह्रौंमा भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वाला, चौधौंमा भूमि व्यवस्थामन्त्री रञ्जिता श्रेष्ठ, पन्ध्रौंमा उद्योगमन्त्री रमेश रिजाल, सोह्रौंमा सहरी विकासमन्त्री सीता गुरुङ र १७औंमा पर्यटन राज्यमन्त्री सुशिला सिर्पाली ठकुरी रहेका छन्।
नवनियुक्त मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शुक्रबार सपथ लिएका हुन्।
विश्वासको मत पाएपछि ३-४ दिनमै मन्त्रिपरिषद्लाई पूर्णता दिने अभिव्यक्ति दिएका प्रचण्डले सरकार विस्तार गर्न सकेका थिएनन्। सत्ता गठबन्धनमा आबद्ध दलहरूबीच मन्त्रालय भागबण्डामा सहमति नजुटेपछि मन्त्रिपरिषद् विस्तार हुन सकेको थिएन।
0 comment