काठमाडौं - थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान-ओ-चालेले सोमबार संसद विघटन गरेका छन्। आगामी मे मा हुन लागेको आम निर्वाचनको लागी संसद विघटन गरिएको हो।

सोमबार राजपत्रमा प्रकाशित एक विज्ञप्तिमा संसद विघटनको घोषणा गरिएको उल्लेख गरिएको छ। निर्वाचन आयोगले मतदानको मिति भने पछि तय गरिसकेको छैन । यद्धपी थाइल्याण्डमा संसद विघटन भएको ६० दिनभित्र निर्वाचन गरिसक्नुपर्ने प्रावधान छ । निर्वाचन गर्ने सम्भावित मितिका रूपमा मे ७ वा १४ लाई हेरिएको छ।

सन् २०१४ मा प्रयुतले सत्ता सम्हालेपछि थाइल्याण्डमा दोस्रो पटक निर्वाचन हुन लागेको छ। सन् २०१४ को चुनावमा सत्तामा आएका पूर्व सेना प्रमुख प्रयुतले एक दशकको निर्वासनपछि स्वदेश फर्किएका पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्राकी अर्बपति छोरीविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।

पेतोङ्टार्न सिनावात्राको नेतृत्वमा रहेको मुख्य विपक्षी फेउ थाई समूहले निर्वाचनमा सफलता हासिल गर्नका लागि कडा मेहनत गरिरहेको छ। तर थाइल्याण्डको सैनिक प्रशासन (जुन्टा) ले सन् २०१७ मा बनाएको संविधानका कारण पार्टीलाई शीर्ष पद सुरक्षित गर्न कठिन बनाउन सक्ने विश्लेषकहरूले बताएका छन्। 

थाइल्याण्डमा सन् २०१४ मा भएको ‘कू’ पछि यो दोस्रो निर्वाचन हो भने सन् २०२० मा बैंककमा युवाको नेतृत्वमा भएको ‘प्रजातन्त्र पक्षधर’ प्रदर्शनले देशलाई हल्लाएपछिको यो पहिलो निर्वाचन हो। 

निर्वाचनका लागि हप्तौंदेखि अनौपचारिक अभियान चलिरहेको थियो। बढ्दो महँगी खर्च र महामारीबाट प्रभावित राज्यको सुस्त पुनः उत्थान दुबै पार्टीका चुनाबी एजेन्डाका रूपमा देखिएका छन्। 

सन् २०१९ को विवादास्पद चुनावमा आफ्नो शासनलाई मजबुत बनाउनुभएका ६८ वर्षीय प्रयुतले थाई राजनीतिमा विरलै देखिने लामो कार्यकाल सम्हाल्न सफल भए। 

नेसनल इन्स्टिच्युट अफ डेभलपमेन्ट एडमिनिस्ट्रेसनले आइतबार प्रकाशित गरेको एक सर्वेक्षणमा प्रयुत १५ प्रतिशतभन्दा बढी मतका साथ तेस्रो स्थानमा रहेका छन् भने ३८ प्रतिशत मत पाएका पेटोङटार्नभन्दा उनी निकै कमजोर देखिएका छन्।