काठमाडौं - नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले अहिले राज्य जनताको पक्षमा नरहेको दावी गरेका छन्।

विप्लवले भने, ‘माओवादी केन्द्रले जति नै जनताको राज्य भने पनि यो राज्य जनताको भइसकेको छैन । राज्यले जनताको हात नलिएसम्म कोहि पनि सुरक्षित हुँदैन । प्रधानमन्त्रीलाई समेत राज्यले नियन्त्रणमा राख्ने कोसिस गरिरहेको छ भने एउटा सुकुम्बासीको हालत के होला ? क्रान्तिको अपूर्णताको परिणाम हो । ’ 

जनयुद्धकालीन मुद्दालाई लिएर माओवादी केन्द्रका अध्‍यक्ष तथा प्रधानमन्त्री  पुष्पकमल दाहाल प्रचण्डविरूद्ध सर्वोच्च अदालतमा रिट परेपछि उनले यस्तो प्रतिक्रिया दिएका हुन्। प्रचण्‍डविरूद्ध रिट सर्वोच्चमा विचाराधीन छ।

विप्लवले जनतामा चरम असन्तुष्ट छाएको बताए । उनले भने ,‘मध्यमवर्गीय व्यवसायीहरू आगो लगाएर मारिँदैछन् । मिटरब्याजी र लघुवित्तले आतकं मच्चाएका छन् ।’