काठमाडौं - जनता समाजवादी पार्टीबाट उपराष्ट्रपतिमा उम्मेदवारी दिएकी प्रमिला यादवले उम्मेदवारी फिर्ता लिने भएकी छन् ।
जनता समाजवादी पार्टीका प्रवक्ता मनिष सुमनले जसपाकै अर्का उम्मेदवार रामसहाय यादवको उम्मेदवारी कायम हुने निर्णय भएकाले प्रमिला यादवज्यूको उम्मेदवारी फिर्ता लिईने बताए। निर्वाचन आयोगका अधिकारीले राष्ट्रपतिमा पुरूष उम्मेदवार भएकाले उपराष्ट्रपतिमा महिला उम्मेदवार बनाउनुपर्ने बताएपछि सत्ता गठबन्धन दल जसपाले पुरूष र महिला दुवै उम्मेदवार उठाएको थियो।
उपराष्ट्रपतिमा राम सहायले उम्मेदवारी दिएपछि उपराष्ट्रपतिका उम्मेदवार एमालेकी अष्टलक्ष्मी शाक्य र जतमत पार्टीकी ममता झाले उनीविरूद्ध उजुरी दिएका थिए। तर निर्वाचन आयोगले आज यादवको उम्मेदवारी यथावत रहने निर्णय गरेपछि प्रमिलाले उम्मेदवारी फिर्ता लिन लागेकी हुन्। आयोगले खस आर्य समुदायको भन्दा फरक मधेशी समुदाय यादव उम्मेदवार हुन अयोग्य भन्न नमिल्ने भएकाले उनको उम्मेदवारी कायमै राख्ने जनाएको छ।
उपराष्ट्रपतिका लागि चारजनाको उम्मेदवारी परेको थियो। सत्ता गठबन्धन दल जसपाबाट रामसहाय यादव र प्रमिला यादव, जनतमतबाट ममता झा र नेकपा एमालेबाट अष्टलक्ष्मी शाक्यले उम्मेदवारी दिएका थिए।
उपराष्ट्रपतिको निर्वाचन चैत्र ३ मा हुँदैछ।
0 comment