काठमाडौं - नागरिक उन्मुक्तिका संरक्षक रेशम चौधरीले रञ्जिता श्रेष्ठलाई उपप्रधान एवं सहरी विकास मन्त्रालय दिनुपर्ने माग गरेका छन्।

राष्ट्रपतिका उम्मेदवारसमेत रहेका नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलसहितका नेताहरूसँग संरक्षक चौधरीले संघमा एक राज्यमन्त्रीसमेत माग गरेका छन्। चौधरीले सुदूरपश्चिम प्रदेशमा नागरिक उन्मुक्तिले समेत नेतृत्व गर्नुपर्ने शर्त राखेका छन्। वर्तमान नेतृत्वको सरकारमा दुई मन्त्रीसहित एक राज्यमन्त्री बनाउनुपर्ने उनको माग छ। त्यस्तै लुम्बिनीमा प्रदेशमा दुई मन्त्री र मधेस प्रदेशमा एक मन्त्री दाबी गरेका छन्। 

चौधरीले टीकापुरलाई छुट्टै जिल्ला बनाउनेपर्ने मागसमेत गरेका छन्। उनले सुदूरपश्चिम प्रदेशलाई खप्तड-थरुहट प्रदेश बनाउनुपर्ने र राजधानी धनगढी बनाउनुपर्ने माग गरेका छन्। सुदूरपश्चिम प्रदेशमा आठ दलको दुई तिहाइ बहुमत रहेको भन्दै नाम परिवर्तन गर्न माग गरेको ती नेताको भनाइ छ। 

संरक्षक चौधरीले टीकापुर राजबन्दीलाई यथाशिघ्र रिहा गर्नुपर्ने अडान राखेको ती नेताले बताए।

आठ दलको साझा उम्मेदवार पौडेललाई भोट माग्न डिल्लीबजार पुगेका टोलीसँग रेशमले सो माग गरेका हुन्। टोलीमा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेल, नेकपा एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वालालगायत टोली डिल्ली बजार पुगेका थिए।

त्यस्तै एमालेकी सांसद भगवती चौधरी पनि जेलमा पुगेरका राष्ट्रपतिका उम्मेदवार सुवासचन्द्र नेम्वाङका लागि भोट मागेकी थिइन्।