काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय निर्वाचन आयोगले कैलाली जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया तथा मत परिणाम बदर गरेको छ।

आइतबार जारी गरिएको विज्ञप्तिमा आयोगले अधिवेशनको निर्वाचन प्रक्रियामा प्रक्रियागत त्रुटि भेटिएको निष्कर्षसहित सम्पूर्ण निर्वाचन प्रक्रिया र त्यसबाट आएको नतिजा बदर गर्ने निर्णय गरिएको जनाएको छ।

जिल्ला अधिवेशनको निर्वाचन प्रक्रिया र त्यसको वैधतामाथि प्रश्न उठाउँदै उम्मेदवारहरू तथा पार्टी सदस्यहरूले दर्ता गराएका उजुरीहरूलाई गम्भीर रूपमा अध्ययन तथा समीक्षा गरेपछि उक्त निर्णय गरिएको आयोगले स्पष्ट पारेको छ।

गत जेठ २५ गते सम्पन्न जिल्ला अधिवेशनबाट सभापति पदमा कविन्द्र ठकुल्ला विजयी भएका थिए। तर केन्द्रीय निर्वाचन आयोगको पछिल्लो निर्णयसँगै उक्त निर्वाचनको परिणाम औपचारिक रूपमा बदर भएको छ।

आयोगले अबको प्रक्रिया तथा पुनः निर्वाचन सम्बन्धी निर्णय आवश्यक परामर्श र छानबिनपछि सार्वजनिक गरिने जनाएको छ।