काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद तथा सचेतक खुश्बु ओलीले परराष्ट्रमन्त्री शिशिर खनालको भारत भ्रमणका क्रममा सीमा विवादको विषय औपचारिक रूपमा नउठाइएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्।
शुक्रबार प्रतिनिधिसभा बैठकमा बोल्दै ओलीले दिल्लीमा भएका औपचारिक भेटवार्तामा परराष्ट्रमन्त्रीले कालापानी, लिपुलेकलगायत सीमा विवादका विषयमा कुनै चर्चा नगरेको आरोप लगाइन्। उनले नेपाली पक्षले भ्रमणपछि जारी गरेको प्रेस विज्ञप्तिमा समेत सीमा विवादबारे एक शब्द उल्लेख नगरिएको भन्दै आपत्ति जनाइन्।
‘काठमाडौंबाट दिल्ली जाँदा पछि बोल्छु भन्नुभएको थियो, तर दिल्लीको औपचारिक वार्तामा कतै पनि सीमाको विषय उठाउनुभएन। नेपाली पक्षले निकालेको प्रेस विज्ञप्तिमा पनि सीमा विवादको एक शब्द छैन,’ उनले भनिन्।
ओलीले भ्रमणका क्रममा मन्त्री खनालले पत्रकारहरूसँग बन्द कोठामा कालापानी र लिपुलेकका विषयमा धारणा राखेको भए पनि त्यसलाई औपचारिक दस्तावेज र कूटनीतिक संवादमा समेट्न नसकेको बताइन्। उनले सीमा व्यवस्थापन र सीमा विवाद फरक विषय भएको उल्लेख गर्दै सरकारले विवादको मूल मुद्दालाई ओझेलमा पारेर जंगेपिलर व्यवस्थापन र नियमित बैठकको विषय मात्र उठाएको आरोप लगाइन्।
‘परराष्ट्रमन्त्रीले संसद्मा पनि सीमा विवादको विषय नउठाएर सीमा व्यवस्थापन, जंगेपिलर व्यवस्थापन र बैठकका विषय मात्रै उठाउनुभएको छ। सीमा व्यवस्थापन र सीमा विवाद फरक कुरा हुन्,’ उनले भनिन्।
उनले परराष्ट्रमन्त्रीको आसन्न चीन भ्रमणतर्फ संकेत गर्दै कालापानी र लिपुलेक नेपालको भूभाग भएको विषयलाई कूटनीतिक तहमा स्पष्ट रूपमा उठाउन आग्रह गरिन्। ‘बन्द कोठा र मिडियामा जसरी कालापानी र लिपुलेक हाम्रो हो भन्नुभएको छ, अब चीन भ्रमणका क्रममा पनि प्रेस नोट र कूटनीतिक टेबलमा ती विषय स्पष्ट रूपमा उठून्,’ उनले भनिन्।
यसैबीच, ओलीले अर्थमन्त्रीले संसद् र सञ्चारकर्मीहरूको चेतनामाथि प्रहार हुने अभिव्यक्ति दिएको भन्दै त्यसप्रति पनि खेद व्यक्त गरिन्।


0 comment