काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) परित्याग गरेका डा. धवलशमशेर राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेन्डालाई स्थापित गर्ने उद्देश्यसहित नयाँ राष्ट्रवादी पार्टी गठन गर्न लागिएको बताएका छन्। उनले उक्त पार्टीको नेतृत्व दुर्गा प्रसाईंले गर्ने जानकारी दिएका छन्।
आइतबार काठमाडौंको जमलस्थित होटल एल्लो पगोडामा आयोजित ‘राष्ट्रवादी पार्टी निर्माणार्थ जिम्मेवारी हस्तान्तरण तथा परिचयात्मक कार्यक्रम’ मा बोल्दै राणाले राजसंस्था र हिन्दु राष्ट्रको एजेण्डालाई देशव्यापी रूपमा स्थापित गर्न प्रसाईं उपयुक्त नेतृत्व भएको बताए।
राणाका अनुसार प्रसाईं राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा जनस्तरमा स्थापित नेता तथा ब्राण्डका रूपमा परिचित भएकाले उनलाई पार्टी नेतृत्वको जिम्मेवारी दिने सहमति भएको हो। उनले नयाँ पार्टीले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई अघि बढाउने स्पष्ट पारे।
“राजसंस्था र हिन्दु राज्यको एजेण्डालाई जोगाउन तथा सबै राष्ट्रवादी र राजावादी शक्तिलाई एकताबद्ध गर्न आवश्यक छ। यही क्रममा हाम्रो ध्यान दुर्गा प्रसाईंतर्फ गएको हो। उहाँ यो एजेण्डाका देशव्यापी नेता र ब्राण्ड हुनुहुन्छ,” राणाले भने।
उनले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले राजासहितको प्रजातन्त्र र हिन्दु राष्ट्रको एजेण्डालाई अपेक्षित रूपमा अघि बढाउन नसकेको आरोप लगाउँदै त्यसकै कारण नयाँ पार्टी गठनको आवश्यकता परेको दाबी गरे। नयाँ पार्टीको औपचारिक घोषणा र संगठन विस्तार सम्बन्धी कार्यक्रम छिट्टै सार्वजनिक गरिने जनाइएको छ।


0 comment