काठमाडौं - नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आइजीपी) डा मनोजकुमार केसीले प्रहरी कर्मचारीका गुनासा तथा पीरमर्का प्रत्यक्ष रूपमा सुन्न र सम्बोधन गर्न स्थापना गरिएको केन्द्रीय गुनासो व्यवस्थापन डेस्कको उद्घाटन गरे ।

प्रहरी प्रधान कार्यालयमा आज आयोजित कार्यक्रममा आइजीपी केसीले डेस्कको औपचारिक उद्घाटन गरेका हुन् । उनले नेपाल प्रहरीको सियुजी सेवामा आबद्ध प्रहरी कार्यालय सहयोगीदेखि प्रहरी वरिष्ठ हवल्दारसम्मका ५४ हजार १२२ जना कर्मचारीको मोबाइलमा एकैसाथ गुनासो दर्ताका लागि गुगल फारामको लिङ्क पठाएका थिए । साथै, एक जना प्रहरी कर्मचारीको टेलिफोनमार्फत गुनासोसमेत सुने ।

प्रहरी सङ्गठनको आधारस्तम्भका रूपमा रहेका तल्लो तहका कर्मचारीहरूको पेशागत जीवनलाई सुरक्षित, सम्मानित, मर्यादित र न्यायपूर्ण बनाउने उद्देश्यले डेस्क स्थापना गरिएको नेपाल प्रहरीले जनाएको छ । कार्यक्षेत्रमा कर्मचारीले भोग्नुपरेका समस्या, कठिनाइ, विभेद तथा अन्य गुनासालाई सहज र प्रभावकारी रूपमा सम्बोधन गर्न डेस्कले काम गर्नेछ ।

आइजीपी केसीले आधारभूत तहका प्रहरी कर्मचारीका गुनासा विभिन्न तह पार गर्दै नेतृत्वसम्म पुग्न कठिन हुने अवस्थालाई ध्यानमा राखेर छिटो र प्रभावकारी रूपमा समस्या समाधान गर्ने उद्देश्यले डेस्क स्थापना गरिएको बताए ।

उनले आधारभूत तहका प्रहरी कर्मचारी सङ्गठनको महत्त्वपूर्ण स्तम्भ भएको उल्लेख गर्दै सडकदेखि सीमासम्म, प्रहरी कार्यालयदेखि विपद् घटनास्थलसम्म नागरिकले प्रत्यक्ष रूपमा देख्ने र महसुस गर्ने प्रहरीको वास्तविक अनुहार उनीहरू नै भएको बताए ।

आधारभूत तहका कर्मचारी सन्तुष्ट नभएसम्म नागरिकले गुणस्तरीय र प्रभावकारी प्रहरी सेवा प्राप्त गर्न कठिन हुने उनको भनाइ थियो । प्रहरी कर्मचारीका गुनासाको प्रभावकारी सम्बोधन समग्र सङ्गठनको कार्यसम्पादनसँग जोडिएको उल्लेख गर्दै आइजीपी केसीले यो डेस्क गुनासो दर्ता गर्ने स्थान मात्र नभई नेतृत्व तह र आधारभूत तहका कर्मचारीबीच विश्वासको सेतुका रूपमा स्थापित हुनुपर्ने बताए ।

उनले गुनासोकर्ताको गोपनीयतालाई विशेष प्राथमिकता दिँदै प्रत्येक गुनासालाई गम्भीरतापूर्वक लिन र निष्पक्ष रूपमा सम्बोधन गर्न डेस्कमा खटिएका कर्मचारीलाई निर्देशनसमेत दिए । नेपाल प्रहरीको कूल जनशक्तिमध्ये ८२ प्रतिशतभन्दा बढी आधारभूत तहका कर्मचारी रहेको तथ्यलाई मध्यनजर गर्दै प्रहरी नियमावली, २०७१ को नियम १९६ बमोजिम कार्यादेश जारी गरी डेस्क स्थापना गरिएको हो ।

डेस्क स्थापनाको मुख्य उद्देश्य आधारभूत तहका प्रहरी कर्मचारीलाई आफ्ना जायज गुनासा स्वस्फूर्त रूपमा राख्न सक्ने वातावरण निर्माण गर्नु, सहज, पहुँचयोग्य, गोप्य र निष्पक्ष गुनासो व्यवस्थापन प्रणाली विकास गर्नु तथा प्राप्त गुनासाको प्रमाणमा आधारित शीघ्र सम्बोधन गर्नु रहेको छ ।

गुनासो सम्बोधन गर्ने संयन्त्रलाई प्रभावकारी बनाउने, सुपरिवेक्षक तथा जिम्मेवार अधिकारीको जवाफदेहिता बढाउने र सङ्गठनभित्र दोहोरिरहने समस्या तथा प्रणालीगत कमजोरी पहिचान गरी नीतिगत, प्रशासनिक र कल्याणकारी सुधारका उपाय अवलम्बन गर्नु पनि डेस्कको उद्देश्य रहेको छ ।

कार्यक्रममा केन्द्रीय गुनासो व्यवस्थापन डेस्कका संयोजक प्रहरी उपरीक्षक गोविन्द पुरीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायब महानिरीक्षक तथा वरिष्ठ प्रहरी अधिकृतहरूको उपस्थिति रहेको थियो । साथै, सातवटै प्रदेश प्रहरी कार्यालय, नेपाल प्रहरीका प्रदेश कार्यालय, प्रहरी शिक्षालय, तालिम केन्द्र, जिल्ला प्रहरी परिसर तथा कार्यालयलगायत विभिन्न प्रहरी एकाइका प्रमुख र प्रतिनिधिहरू भर्चुअल माध्यमबाट सहभागी भएका थिए ।