काठमाडौं - प्रधानमन्त्री बालेन्द्र शाहले भारत भ्रमणका क्रममा मंसिर ७ गते सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग भेटवार्ता गर्ने तय भएको छ । शुक्रबार परराष्ट्र मन्त्रालयले पत्रकार सम्मेलन गर्दै सोमबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता हुने तय भएको जनाएको हो ।
भ्रमणका क्रममा दुई देशबीच सम्पर्क सञ्जाल विस्तार तथा ऊर्जा सहकार्यसम्बन्धी विभिन्न परियोजनाहरूको उद्घाटन तथा नयाँ परियोजनाहरूको शिलान्यास गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयका सचिव अमृत बहादुर राईले जानकारी दिए । दुवै देशका नेतृत्वहरूबीच व्यापार, पारवहन, लगानी, ऊर्जा, सम्पर्क सञ्जाल तथा पूर्वाधारलगायतका क्षेत्रहरूमा आर्थिक सहकार्य अभिवृद्धि गर्ने विषयमा व्यापक छलफल हुने उनले बताए ।
त्यस्तै भ्रमणका क्रममा सहकार्यका विविध क्षेत्र—शिक्षा, स्वास्थ्य, कृषि, खेलकुद, विपद् व्यवस्थापन, मानव संसाधनजस्ता विषयहरू समेटिएका विभिन्न समझदारीपत्रहरू समेत आदानप्रदान गरिने र यसबाट दुवै देशका प्राथमिकता प्राप्त क्षेत्रमा आपसी सहकार्य थप विस्तार हुन जाने सचिव राईले बताए ।
भारत भ्रमणका क्रममा प्रधानमन्त्री शाहले नेपालमा भारतीय लगानी आकर्षित गर्ने उद्देश्यले भारतीय व्यवसायी समुदायलाई सम्बोधन गरिने र नेपाल सरकारको तर्फबाट भारतबाट थप लगानी आकर्षित गर्ने अवलम्बन गरिएका नीतिगत दृष्टिकोण तथा प्रयासहरू प्रस्तुत गरिनेछ मन्त्रालयले जनाएको छ ।


0 comment