काठमाडौं - सरकारले प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा हुने भारतको दुईदिने राजकीय भ्रमण स्वीकृत गरेको छ। सिंहदरबारमा आज बसेको मन्त्रिपरिषद् बैठकले आगामी मङ्सिर ६ र ७ गते हुने प्रधानमन्त्री शाहको भारत भ्रमण स्वीकृत गर्दै भ्रमणमा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलसमेत गठन गर्ने निर्णय गरेको हो।
बैठकपछि सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले मन्त्रिपरिषद्का मुख्य सात निर्णयहरू सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले चीन सरकारबाट भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट प्रभावित जनताको जीवनरक्षा तथा तत्कालीन आपत्कालीन उद्धार र राहत कार्यका लागि प्राप्त हुने २ मिलियन अमेरिकी डलर नगद अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ। यसैगरी, अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) बाट 'र्यापिड क्रेडिट फ्यासिलिटी' अन्तर्गत प्राप्त हुने करिब १०७ मिलियन अमेरिकी डलर बराबरको निर्व्याजी सहुलियतपूर्ण ऋण स्वीकार गर्ने निर्णय पनि बैठकले गरेको छ।
त्यस्तै, नेपालभर नापजाँच हुन बाँकी रहेका सरकारी, सार्वजनिक र सामुदायिक जग्गा नापजाँच गरी लगत तयार गर्नका लागि आदेश जारी गर्ने निर्णय भएको छ।
यसका साथै बैठकले 'राष्ट्रिय जैविक विविधता रणनीति तथा कार्ययोजना (२०२६–२०३०)', 'ऐतिहासिक, पुरातात्विक र सांस्कृतिक सम्पदा संरक्षणसम्बन्धी नर्म्स, २०८३' तथा 'राष्ट्रिय झोलुङ्गे पुल नीति, २०८३' स्वीकृत गर्ने निर्णय गरेको छ।


0 comment