काठमाडौं - नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले स्थानीय तह र प्रदेशसभाको निर्वाचन संविधान र कानुनले तोकेको व्यवस्थाअनुसार गर्नुपर्ने बताएका छन्। 

निर्वाचन आयोगले राष्ट्रिय सभा, प्रदेशसभा र स्थानीय तहको निर्वाचनसम्बन्धी कानुनी व्यवस्था, जटिलता तथा तयारीका विषयमा राजनीतिक दलहरूसँग गरेको छलफलपछि थापाले यस्तो बताएका हुन्।

स्थानीय तह र प्रदेशसभाको निर्वाचन एकैपटक गर्ने वा फरक-फरक समयमा गर्ने भन्ने बहस भइरहे पनि दुवै तहका जनप्रतिनिधिले संविधान र कानुनबमोजिम पाएको पाँच वर्षको पूर्ण कार्यकाललाई आधार मानेर निर्वाचन गर्नुपर्ने उनको धारणा छ।

उनले निर्वाचनको निष्पक्षता सुनिश्चित गर्ने विषयमा निर्वाचन आयोगको भूमिका महत्वपूर्ण भए पनि त्यसको मुख्य जिम्मेवारी सरकारको हुने बताए। निर्वाचनलाई निष्पक्ष र व्यवस्थित बनाउन सरकारले पनि आवश्यक पहलकदमी लिनुपर्ने र आयोगले समयमै सरकारको ध्यानाकर्षण गराउनुपर्ने उनको भनाइ थियो।

स्थानीय तहका जनप्रतिनिधिको कार्यकाल २०८४ साल जेठ ५ गते पूरा हुँदैछ भने प्रदेशसभा सदस्यहरूको कार्यकाल पनि २०८४ साल चैत ५ गते समाप्त हुँदैछ। कार्यकाल समाप्त हुनुभन्दा दुई महिनाअघि नै निर्वाचन गर्नुपर्ने कानुनी व्यवस्थाअनुसार निर्वाचन आयोगले आगामी निर्वाचनको तयारी र राजनीतिक दलहरूसँग छलफल अघि बढाएको छ।