काठमाडौं - नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाखको अन्तिममा स्थानीय तहको निर्वाचन र मङ्सिरमा प्रदेशको निर्वाचन हुनुपर्ने बताएका छन् ।
शुक्रबार पार्टी कार्यालय च्यासलमा एमाले स्थानीय प्रतिनिधिसभा भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले फागुन वा चैतमा निर्वाचन गर्ने प्रस्ताव स्वीकार्य नहुने भन्दै जनप्रतिनिधिले पाँच वर्षको पूरा कार्यकाल काम गर्न पाउनुपर्ने र वैशाखको अन्तिममा स्थानीय निर्वाचन हुनुपर्ने बताए ।
संविधान बमोजिम पाँच वर्षमा चुनाव हुनुपर्नेमा जोड दिँदै ओलीले निर्वाचनलाई तलमाथि गरेर संविधान मिच्न भर्याङ बनाउन नहुने धारणा राखे । चुनाव कहिले गर्दा कसलाई फाइदा वा घाटा हुन्छ भन्ने स्वार्थभन्दा माथि उठेर संवैधानिक बाटोमै अघि बढ्नुपर्ने उनको भनाइ छ । त्यस्तै ओलीले अरूको कारणले विकासको गति रोकिएको, लोकतन्त्र उल्ट्याइएको र सुशासन बाँडिएको भन्दै ती विषय जनताबीच लैजान प्रतिनिधिहरुलाई निर्देशन दिए ।
उनले पार्टीभित्र बसेर उम्मेदवारलाई असहयोग गर्ने वा हराउने प्रवृत्तिलाई एमालेमा ठाउँ नरहेको स्पष्ट पारे । आफू उठे वा अर्को जो उठे पनि पार्टीले उठाएको उम्मेदवारलाई जिताउने नीति लिनुपर्ने र एकताबद्ध भएर अघि बढ्नुपर्ने उनको भनाइ छ ।


0 comment