काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का नेता ज्ञानेन्द्र शाहीले पार्टीको अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।
शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै शाहीले पार्टीले उठाउँदै आएको एजेन्डा र विचारलाई पुस्तान्तरणको आवश्यकता रहेकाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । विचारलाई नयाँ पुस्ताको जोस, जागर र ऊर्जासँग जोड्ने तथा अग्रजहरूको अनुभव र युवाहरूको सामथ्र्यलाई एउटै ठाउँमा उभ्याउने समय उनले बताए ।
मङ्सिर २६, २७ र २८ गते हुन गइरहेको राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय महाधिवेशनमा सबैलाई समेट्दै पार्टी अध्यक्षको उम्मेदवारका रूपमा अगाडि बढ्ने निर्णयमा पुगेको र सो अभियानमा साथ, समर्थनका लागि उनले अपिल गरे ।
उनले आफ्नो अभियान अभियान व्यक्तिगत पद प्राप्तिको नभई पार्टीको पुस्तान्तरण, रूपान्तरण र वैचारिक पुनर्जागरणको अभियान रहेको स्पष्ट पारे । विचार, सिद्धान्त र राजनीतिक मान्यता नमिल्ने दलहरूसँग पटक-पटक चुनावी समीकरण तथा तालमेल गर्ने र सत्ता समीकरणको खेलमा अल्झिने प्रवृत्तिले पार्टीलाई कमजोर बनाएको उनले बताए ।
शाहीले वर्षौँदेखि पार्टीको झन्डा बोकेर हिँडेका, आफ्नो विचार र आस्थाका कारण समाजमा अपहेलित हुनुपरेका तथा अवसर र जिम्मेवारीबाट वञ्चित युवालाई चुप लागेर नबस्न आग्रह गरे ।


0 comment