काठमाडौं - जय मातृभूमि पार्टीले एक प्रेश विज्ञप्ति जारी गरी देशको समसामयिाक विषयमा पार्टीको धारणा राख्दै बिज्ञप्तिमा उल्लेख गरेको छ । “ नेपालको संविधानको धारा ५१ अनुसार राज्यले अवलम्बन गर्ने नीतिहरुको खण्ड (ड) मा अन्तर्राष्ट्रिय सम्बन्धी नीति अन्तर्गत उप—खण्ड (१) मा उल्लेख भएका नीतिको परिपालन गरी परराष्ट्र नीति सन्चालन गर्ने तथा समानताको आधारमा पुनरावलोकन सहित सन्धि सम्झौताहरु गर्ने व्यवस्था अनुरुप कार्य गर्न यस पार्टीले सरकारलाई सजग, खुल्ला सबैले थाहा पाउने छलफल, सतर्क र चनाखो रहन सचेत गराउँदछ ।
नेपाल–भारत विज्ञ समूह को प्रतिवेदन बुझ्ने र कार्यान्वयन गर्ने सम्बन्धमा भारतको आलटाले रवैयाको प्रामाणिक कारण के हो ? त्यसबारे छलफल हुनु पर्दछ । नेपालको भूमि कुनै मित्र राष्ट्रको विरुद्ध प्रयोग नगरिने नीतिको बर्खिलाप हुने गरी दलाई लामाको जन्मोत्सव लगायतका गतिविधि भइरहेका समाचारले शक्ति राष्ट्रको भू–राजनीतिक द्वन्द्वमा नेपाललाई फसाउने षडयन्त्र त भइरहेको छैन भन्ने आशंका बढेको छ । यस्ता कुनै गतिविधि भए तत्काल रोक्न तथा विदेशीको लालच र इशारामा बुर्कुसी नमार्न, लम्पसार नपर्न तथा विगतका सरकारहरुले झै आफ्ना प्रभुलाई खुसी पार्न कुनै पनि राष्ट्रघाती अभिव्यक्ति नदिन र राष्ट्रघाति कार्य नगर्न समेत सचेत गराइन्छ ।
रास्वपाका शिर्ष नेतृत्वहरुबाट दिएका भू–राजनीतिक तनाव र धङधङीबाट मुक्त भई काम गर्ने जस्ता राष्ट्रघाती अभिव्यक्तिप्रति नेपाली जनतासामु माफ माग्न, ल्हेन्डुपे हर्कत बन्द गर्न, “नेपालले पनि भारतको जग्गा मिचेको छ” भन्ने जस्तो गलत र भ्रमपूर्ण अभिव्यक्तिप्रति जनतासँग माफ माग्न आवश्यक छ । यसैगरी कोसी गण्डकी कर्णाली र महाकालीमा भएको राष्ट्रघात दोहोर्याउने खालका कृयाकलाप बन्द गरिनु पर्छ । विगतमा कोसी सम्झौताको अघिल्लो रातको ९९ वर्षको टाइपलाई १९९ वर्ष बनाउने जस्तो अर्को पक्षको दुषित हर्कत हुन नदिन सचेत रहन आवश्यक छ ।
विदेशी सैन्य जहाजलाई नेपाली आकासमा उडान अनुमति दिने लगायतका कुनै राष्ट्रघाती सन्धि सम्झौता र समझदारीमा नफस्न सचेत गराइन्छ । सुस्ता, लिपुलेक, लिम्पियाधुरा र कालापानी लगायतका अन्य सिमा क्षेत्रमा अनधिकृत रुपमा वर्षौँदेखि कब्जा गरिएको नेपालको भूमि तत्काल फिर्ता ल्याउन सख्त पहल गर्न समेत सरकारलाई सचेत गराउछौँ । साथै, नेपाली वस्तुको भारत निकासीमा समय–समयमा लगाउने गरेको अवरोध हटाई निर्यात सहज बनाउँदै भारतसँगको अत्यधिक व्यापार घाटा नियन्त्रणतर्फ घनीभूत प्रयास आवश्यक रहेको छ । अन्त्यमा, यस पार्टीले अघि सारेका विषय–वस्तु प्राप्तिको संघर्षमा पार्टीलाई साथ, सहयोग र समर्थन गर्न तथा पार्टीले आयोजना गर्ने विरोध कार्यक्रममा होस्टेमा हैसे गर्न जनता जनार्दनलाई हार्दिक अनुरोध र अपिल गर्दै यो विज्ञप्ति जारी गरिएको छ ।”
विज्ञप्तिमा पार्टीका अध्यक्ष रामशरण पाण्डेले हस्ताक्षर गरेका छन् । पार्टीले देशको समसामयिक विषयमा समय परिस्थिति अनुसार राज्यमा रहेका सत्तासिनलाई राष्ट्रवादी पार्टीको हैसियतले समयम समयमा घच्घच्याउँदै आएको छ ।



0 comment