काठमाडौं - नेकपा एमालेकी सचिव पद्मा अर्यालले आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताएकी छन् ।

बुधबारबाट काठमाडौंमा सुरु एमालेको राष्ट्रिय भेलामा सचिव अर्यालले पार्टी शक्ति र पङ्क्तिलाई निष्क्रिय हुन नदिई त्यसलाई थप बलियो र सक्रिय बनाउदै आगामी दिनमा आउन सक्ने राजनीतिक परीक्षण र चुनौतीहरूको सामना गर्न पूर्ण रुपमा तयार रहनुपर्ने बताएकी छन् ।

उनले अहिले जनतामा रहेका जिज्ञासा, प्रश्न र आलोचनाहरूलाई पन्छ्याउने नभइ सवै प्रश्नहरूको सामना गर्दै स्पष्ट जवाफ दिन तयार हुनुपर्ने बताइन् ।

जनतासँग प्रत्यक्ष संवाद गर्ने, उनीहरूको कुरा सुन्ने र पार्टीसँग जोड्ने कार्यमा कार्यकर्ताहरू सक्रिय रूपमा लाग्नुपर्ने उनको भनाइ छ । उहाले देश निर्माण गर्ने मूल पार्टी एमाले नै हो भन्ने यथार्थलाई बुझ्दै पार्टीलाई अझ बढी सशक्त र बलियो बनाउन सबैले आ–आफ्नो स्थानबाट जिम्मेवारी बहन गर्नुपर्ने धारणा समेत राखिन् । सचिव अर्यालले गत निर्वाचनको क्षतिपूर्ति आगामी निर्वाचनबाट लिनसक्ने गरि एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिइन् ।