काठमाडौं - नेकपा एमालेको राष्ट्रिय भेला आजबाट सुरु हुँदैछ ।

काठमाडौँको बबरमहलस्थित कार्की व्यांक्वेटमा बिहान ११ बजेबाट भेला सुरु हुने पार्टीले जनाएको छ ।

हिजो बसेको पार्टी स्थायी कमिटीको बैठकले बैठकका एजेण्डा अनुमोदन गरेको छ । असोज ५ देखि ८ गतेसम्म बसेको केन्द्रीय कमिटीको बैठकले गरेका निर्णय कार्यान्वयनमा एकरुपता र पार्टीले गर्नुपर्ने १५ कामका बारेमा छलफल गरिने बताईएको छ।

भेलामा केन्द्रीय कमिटीका सदस्यहरु, प्रदेश र जिल्लाका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष–उपाध्यक्ष, जनसंगठन, केन्द्रीय निकाय, संघीय र प्रदेशका सांसद, स्थानीय तहका प्रमुख र उपप्रमुख सहभागी हुनेछन् ।

भेलाको पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने कार्यक्रम छ । यसैगरी वरिष्ठ नेता विद्यादेवी भण्डारी, उपाध्यक्षहरु रामबहादुर थापा, विष्णु पौडेल, महासचिव शंकर पोखरेलले सम्बोधन गर्ने कार्यक्रम रहेको प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले जानकारी दिए ।

भेलाका लागि अधिकांश सहभागी काठमाडौँ आइसकेका छन् ।

राष्ट्रिय राजनीतिलाई स्पष्ट दिशा निर्देश गर्न र स्थानीय तहको निर्वाचनको तयारीका लागि भेला आयोजना गरिएको पार्टीका उप महासचिव लेखराज भट्टले जानकारी दिए ।