काठमाडौं - नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारप्रति आक्रोश व्यक्त गर्दै एमाले कसैको धम्की, त्रास र मनोवैज्ञानिक दबाबबाट कमजोर नहुने बताएका छन्। उनले जनताको बल र पार्टीको संगठनात्मक शक्तिका आधारमा एमाले पुनः देशको नेतृत्वमा फर्किने दाबीसमेत गरे।
पार्टीको राष्ट्रिय भेलाको उद्घाटनसत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले एमालेको राजनीतिक यात्रा कुनै कृपा वा दयामायाबाट नभई लामो र कठिन संघर्षबाट स्थापित भएको उल्लेख गरे। राणाशासन, पञ्चायती व्यवस्था र निरंकुश राजतन्त्रविरुद्ध संघर्ष गर्दै लोकतन्त्र, गणतन्त्र र जनताको अधिकार स्थापनाका लागि पार्टीले महत्वपूर्ण भूमिका खेलेको उनको भनाइ थियो।
सम्बोधनका क्रममा अध्यक्ष ओलीले राजनीतिक नेतृत्वलाई थुन्ने धम्की दिइएको प्रसङ्ग उल्लेख गर्दै व्यङ्ग्यात्मक टिप्पणी गरे। आफूहरूले देश र जनताका लागि जीवनको बाजी लगाएर संघर्ष गरेको स्मरण गराउँदै उनले एमालेलाई हल्का रूपमा नलिन चेतावनी दिए। विभिन्न प्रकारका धम्की र हावादारी अभिव्यक्तिले पार्टीलाई विचलित पार्न नसक्ने उल्लेख गर्दै उनले एमाले अझ सुदृढ भएर अघि बढ्ने बताए।
“नेकपा एमाले यो देशको भविष्य हो, राष्ट्रियताको रक्षक हो र विकासको नायक हो,” अध्यक्ष ओलीले भने।
आगामी दिनमा स्थानीय तह, प्रदेश र संघीय निर्वाचनसँगै राष्ट्रपतिको निर्वाचनसमेत आउने उल्लेख गर्दै उनले पार्टीलाई निर्वाचन केन्द्रित अभियानमा जुट्न आग्रह गरे। विगतमा विभिन्न घेराबन्दी तथा आन्तरिक र बाह्य शक्तिको प्रहारका कारण पार्टीले क्षति व्यहोर्नुपरे पनि अब थप दृढताका साथ अघि बढ्ने उनको भनाइ थियो।
अध्यक्ष ओलीले एमाले समृद्ध नेपाल र सुखी नेपालीको राष्ट्रिय आकांक्षाबाट पछि नहट्ने स्पष्ट पारे। देशको विकास, राष्ट्रियताको संरक्षण र जनताको समृद्धिका लागि पार्टी प्रतिबद्ध रहेको उनले बताए।
एमालेले सधैँ जनताको समर्थन र शक्तिका आधारमा मूल ढोकाबाटै सिंहदरबार प्रवेश गरेको उल्लेख गर्दै अध्यक्ष ओलीले आगामी दिनमा पनि जनताको विश्वास र पार्टीको सुदृढ संगठनात्मक सामर्थ्यका आधारमा देशको नेतृत्वमा पुनः स्थापित हुने विश्वास व्यक्त गरे।


0 comment