काठमाडौं - नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लगायतका नयाँ राजनीतिक दललाई ‘मौसमी छिचिमिरा’को संज्ञा दिँदै उनीहरूसँग डराउनुपर्ने अवस्था नरहेको बताएका छन् ।
काठमाडौंमा जारी एमालेको राष्ट्रिय भेला–२०८३ को दोस्रो दिनको बन्द सत्रलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले नयाँ दलको राजनीतिक प्रभाव लामो समय टिक्न नसक्ने टिप्पणी गरे । उनले बर्खायाममा देखिने छिचिमिराको आयु छोटो हुने दृष्टान्त दिँदै नयाँ राजनीतिक प्रवृत्तिविरुद्ध एमालेले नेतृत्वदायी भूमिका खेल्ने बताए ।
‘बर्खायाममा निस्कने छिचिमिराको आयु लामो हुँदैन । यस्ता छिचिमिरा घरको छानामा नपुग्दै कतिपयलाई चराले खाइदिन्छ । कतिपय आफैं भुइँमा झर्छन्,’ ओलीले भने, ‘यस्ता प्रवृत्तिविरुद्ध लड्ने र विजय हासिल गर्ने कामको नेतृत्व एमालेले गर्छ ।’
अध्यक्ष ओलीले निर्वाचनअघि भएका ध्वंस र आक्रमणका घटनाले एमालेलाई प्रतिरक्षात्मक अवस्थामा पुर्याएको दाबी गरे । एमाले सरकारबाट विस्थापित हुनुको कारण पार्टीको आन्तरिक कमजोरीलाई मात्र मान्न नहुने उनको भनाइ थियो ।
‘हामी सरकारबाट अपदस्थ हुँदाको अवस्थाको विश्लेषण नगरी राजनीति हुँदैन,’ उनले भने, ‘राजनीति बुझ्नका लागि हाम्रो सरकार विस्थापनका लागि बनाइएको वातावरण बुझ्नुपर्दछ । त्यति नबुझी राजनीति बुझिँदैन ।’
उनले सामाजिक सञ्जालको प्रयोग, आफूहरूप्रति फैलाइएको घृणा र सुरक्षा निकायको अनावश्यक संलग्नताका कारण एमाले निर्वाचनमा पराजित भएको दाबी गरे ।
‘एल्गोरिदम लगाएर, सामाजिक सञ्जालका माध्यमबाट हामीलाई जनताबाट टाढा पुर्याइयो,’ ओलीले भने, ‘हामीप्रति घृणा फैलाएर, अनावश्यक ढंगले सुरक्षा निकायको संलग्नता गराएर एमालेलाई निर्वाचनमा पराजित गराइयो ।’
ओलीले भदौ २३-२४ मा भएका घटनालाई लोकतान्त्रिक प्रणालीभित्र स्वीकार गर्न नसकिने भन्दै त्यसलाई त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण घटनाको संज्ञा दिए । एमालेले उक्त घटनालाई तत्कालीन अवस्थामा पनि स्वीकार नगरेको र भविष्यमा पनि स्वीकार नगर्ने उनले बताए ।
‘भदौ २३–२४ को एउटा त्रासदीपूर्ण, विध्वंसात्मक र आतंकपूर्ण क्रियाकलाप भयो । यो लोकतन्त्रभित्रको स्वीकार्य कुरा होइन,’ उनले भने, ‘हिजो तत्काल पनि त्यसलाई स्वीकारेका थिएनौँ र भविष्यमा पनि स्वीकारिने छैन ।’
दुई प्रमुख प्रतिस्पर्धी दल नेपाली कांग्रेस र एमालेबीचको सहकार्य मुलुकमा राजनीतिक स्थिरता र स्थायित्व कायम गर्ने उद्देश्यले भएको ओलीले स्मरण गरे । सामान्य अवस्थामा प्रतिस्पर्धी दलबीच सरकार गठन नहुने भए पनि तत्कालीन राष्ट्रिय परिस्थितिका कारण दुई दल एक ठाउँमा आएको उनको भनाइ थियो ।
कांग्रेस र एमालेको सहकार्यले निर्वाचनसम्म सरकार स्थिर रहने तथा संविधान र लोकतान्त्रिक प्रणालीमाथि चुनौती नआउने अवस्था बनेपछि प्रतिक्रियावादी शक्तिहरू आत्तिएको ओलीको दाबी थियो ।


0 comment