काठमाडौं - भोटेकोशी बाढीपीडितलाई नगद राहत वितरण गरिएको छ ।
गोसाइँकुण्ड गाउँपालिका–३ का १४२ तामाङ परिवारलाई दुई लाख ८४ नगद राहत वितरण गरिएको हो । बाढीका कारण ज्यान गुमाएका तथा बेपत्ता भएका व्यक्तिका परिवार र अन्य प्रभावितलाई तत्काल राहत पु¥याउने उद्देश्यले उक्त आर्थिक सहायता उपलब्ध गराइएको हो ।
अमेरिकाको ओहायो राज्यस्थित कोलम्बसमा बसोबास गर्दै आएका नेपाली तामाङ समुदायका सदस्यहरूबाट सङ्कलित रकम पीडितलाई हस्तान्तरण गरिएको हो । ‘अमेरिका–नेपाल बाढीपीडित राहत अनुदान सहयोग’ अभियानका संयोजक दावा तामाङको पहलमा जम्मा गरिएको उक्त रकम काठमाडौँको नागार्जुन नगरपालिका–२ का जनप्रतिनिधिहरूको समूहले रसुवामै पुगेर वितरण गरेको हो ।
अभियानअन्तर्गत गोसाइँकुण्ड गाउँपालिका–३ का लिङलिङ, बृदिम, खाम्जिङ, शेर्पागाउँ, वाङ्गल र बेन्जयाङका १४२ परिवारलाई जनही रु दुई हजारका दरले कूल रु दुई लाख ८४ हजार नगद प्रदान गरिएको वडाध्यक्ष मिङ्मार छिरिङ तामाङले जानकारी दिए । बाढीका कारण आफन्त गुमाएर गहिरो शोकमा परेका तथा दैनिक उपभोग्य वस्तु किनमेल गर्नसमेत नसक्ने अवस्थामा पुगेका पीडित परिवारको घाउमा मलम लगाउने उद्देश्यले सहयोग उपलब्ध गराइएको सहयोगी संस्थाले जनाएको छ ।


0 comment