काठमाडौं - १६ औं संस्करणको सफल पोखरा अन्तर्राष्ट्रिय म्याराथनको विजेता केन्याली धावक स्टेफन कोसगेईले १७ औं संस्करणको पनि उपाधि जितेका छन्। 

नेपाल भूतपूर्व खेलाडी मञ्चको आयोजनामा भएको म्याराथनमा उनले निधारित दुरी ४२.१९५ किमी दुरी २ घण्टा २० मिनेट ०७ सेकेण्डमा पुरा गर्दै पाँच लाख नगद राशीसहित पुरस्कार पाए। १६ औं संस्करणको म्याराथनमा उनले २ घण्टा १९ मिनेटमा निधारित दुरी पार गर्दै उपाधि जितेका थिए । 

दोस्रो पुरस्कार पनि केन्याली धावकले नै पाए । धावक जुलियस मोरियकीले २ घण्टा २० मिनेट ३७ सेकेण्डमा दुरी पुरा गर्दै ३ लाख रुपैयाँ प्राप्त गरे । म्याराथमा नेपाली सेनाका धावक होलाल श्रेष्ठ तेस्रो भए । श्रेष्ठले दुरी २ घण्टा २५ मिनेट १४ सेकेण्डमा पुरा गर्दै २ लाख रुपैयाँ प्राप्त गरे । केन्याली धावक सिमिओन किप्लाले  २ घण्टा २९ मिनेट ३५ सेकेण्डमा पार गर्दै सान्त्वता पुरस्कार ३० हजार पाए । उनि १६ औं संस्करणका उपविजेता हुन् । 

महिलातर्फ हाफ म्याराथनमा नेपाल पुलिसकी राजपुरा प्रथम

पोखरामा शनिबार सम्पन्न हाफ म्याराथनमा महिला तर्फ नेपाल पुलिसकी राजपुरा पछाई प्रथम भएकी छन् । उनले निधारित दुरी १ घण्टा २१ मिनेट ११ सेकेण्डमा पूरा गरिन् । एपिएफकी बृन्दा श्रेष्ठ दोस्रो भइन् । उनले निधारित २१ किमी दुरी १ घण्टा २६ मिनेट २८ सेकेण्डमा पूरा गरिन । हार्मीकी पूर्णलक्ष्मी न्यौपानेले निर्धारित दुरी १ घण्टा ३१ मिनेट ४ सेकेण्डमा पूरा गरिन् । हाफ म्याराथनमा पहिलो हुनेलाई १ लाख ५० हजार दोस्रो हुनेलाई एक लाख र तेस्रो हुनेलाई  ७५ हजार र सान्त्वना पुरस्कार १५ हजार प्रदान गरिएको थियो । 

महिलातर्फ १० किलोमिटरमा सशस्त्रकी रावत प्रथम 

पोखरा म्याराथन अन्तर्गत १० किलोमिटर महिला तर्फको प्रतिस्पर्धामा सशस्त्र प्रहरी बलकी आशा रावत प्रथम भएकी छन् । उनले निधारित दुरी ५० मिनेट १२.३ सेकेण्डमा पुरा गरेकी हुन् । यसै गरी दोस्रो स्थानमा नेपाल पुलिसकी धाविका बृष्मा कुमाल भइन् । उनले निधारित दुरी ५० मिनेट २९.६४ सेकेण्डमा पुरा गरिन । नेपाली सेनाकी कल्पना खड्काले निधारित दुरी ५१ मिनेट ०६ .७७ सकेकेण्डमा पुरा गर्दै तेस्रो भइन् । विजेता प्रथम, दृतीय र तृतीयले क्रमश ३०, २० र १५ हजार नगद पुरस्कार पाए । 

पुरुष तर्फ नेपाली सेनाका श्रेष्ठ प्रथम 

पुरुष तर्फको १० किलोमिट दौडमा नेपाली सेनाका धावक सन्जय श्रेष्ठले निधारित दुरी ३६ मिनेट २९.९ सकेण्डमा पुरा गर्दै प्रथम भए । नेपाली सेनाकै सुवा कार्कीले निधारित दुरी ३६ मिनेट ५४.९ सेकेण्डमा पुरा गरे । यसै गरी तेस्रो भएका पाँचथरका दिपक सुहाङले निर्धारित दुरी ३७ मिनेट ००.८ सेकेण्डमा पुरा गरे । विजेता खेलाडीले क्रमश ३०, २० र १५ हजार नगद पुरस्कार, मेडल र प्रमाण पत्र पाए ।

प्रतियोगितामा विदेशी १६ देशका धावक सहित ३७ जिल्लाका धावकहरुले सहभागीता जनाएको आयोजकले जनाएको छ । म्याराथनमा गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारी, पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यको पनि सहभागीता रहेको थियो । रन फर फन, विभिन्न दौड प्रतियोगितामा समेत गरेर ८ हजारको सहभागीता रहने आयोजकले प्रतियोगिता अघि आयोजना गरेको पत्रकार सम्मेलनमा बताएको थियो ।