काठमाडौं - सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले जनताले दिएको शक्तिलाई दम्भमा बदल्न थाले राजनीतिक पतनको सुरुवात हुने बताएका छन्। उनले जनताको विश्वासबाट प्राप्त शक्तिलाई अहंकार नभई जिम्मेवारी र सेवामा रूपान्तरण गर्नुपर्नेमा जोड दिएका छन्।
शुक्रबार चितवनमा आयोजित कार्यक्रममा बोल्दै लामिछानेले जनताले आफूहरूलाई ठालु बन्न नभई जनताको सेवा गर्न मत दिएको बताए। ‘आज जनताले हामीलाई ठूलो शक्ति दिएका छन् तर शक्तिसँगै ठूलो जिम्मेवारी पनि आउँछ। यदि हामी जनविश्वासका आधारमा प्राप्त शक्ति दम्भमा बदल्न थाल्यौँ भने त्यो हाम्रो पतनको सुरुवात हुनेछ,’ उनले भने।
एकपटक चुनाव जित्दैमा आफूहरू विशेष व्यक्ति नभएको उल्लेख गर्दै उनले आफूहरू यही माटोका सामान्य नागरिक भएको भुल्न नहुने बताए। लामिछानेले घमण्ड, पदको दुरुपयोग र राजनीतिक दबाबको संस्कृतिबाट टाढा रहनुपर्ने धारणा पनि राखे। विगतमा आफूहरूमाथि अन्याय भएको भन्दैमा अहिले सत्ता र पहुँचको प्रयोग गरेर बदला लिन खोज्नु गलत हुने उनको भनाइ थियो।


0 comment