काठमाडौं - लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी आनी छोइङ डोल्माको नागरिकता छानबिन गर्न माग गर्दै राष्ट्रिय जेन्जी नागरिक अभियानले जिल्ला प्रशासन कार्यालय काठमाडौंमा ज्ञापन पत्र बुझाएको छ ।
छोइङ डोल्माको नागरिकता तथा सम्पत्ति शुद्धीकरणसँग सम्बन्धित विषयमा उठेका प्रश्नहरूको निष्पक्ष छानबिन गर्न माग गर्दै अभियानले शुक्रबार काठमाडौं प्रशासन कार्यालयमा ज्ञापन पत्र बुझाएको हो ।
राष्ट्रिय जेन्जी नागरिक अभियानका संयोजक सुनिल सिंहले सार्वजनिक पदमा नियुक्त व्यक्तिका विषयमा नागरिकतादेखि आर्थिक पारदर्शितासम्मका प्रश्न उठेपछि त्यसबारे आम नागरिकले सत्यतथ्य जानकारी पाउनुपर्ने बताए। उनले आनी छोइङ डोल्माको नियुक्तिलाई लिएर विभिन्न प्रश्न तथा जिज्ञासा सार्वजनिक भइरहँदा सम्बन्धित निकायले ती विषयमा स्पष्ट जवाफ दिनुपर्ने धारणा राखे।
सार्वजनिक जिम्मेवारीमा पुगेका व्यक्तिको नियुक्ति प्रक्रियासँगै उनीहरूको पृष्ठभूमि र पारदर्शिताका विषयमा पनि नागरिकले चासो राख्नु स्वाभाविक भएको उनले बताए ।
अभियन्ताहरुले राष्ट्रिय जेन्जी नागरिक अभियानले यस विषयमा लामो समयदेखि खबरदारी गर्दै आएको उल्लेख गर्दै नागरिकले उठाएका प्रश्नलाई बेवास्ता गर्न नहुने बताएका छन् ।


0 comment