काठमाडौं - मोफसलको सर्वाधिक चर्चित फुटबल प्रतियोगिता विराट गोल्डकपको पुरस्कार राशी बढाउने तयारी गरिएको छ।

विराट गोल्डकपका कार्यकारी निर्देशक सुवाशीस कोइरालाले आगामी संस्करणमा पुरस्कार राशी बढाउने तयारी गरेको जानकारी दिएका छन्। ‘विराट गोल्डकपलाई अझ स्तरीय बनाउने तयारीसहित पुरस्कारको राशी पनि बढाउने सोच बनाएका छौं,’ कोइरालाले भने, 'यसपाली विगतको तुलनामा कम्तिमा ४/५ लाख पुरस्कार वृद्धि हुन्छ। यसैगरी उपविजेता हुने टिमले पनि कम्तिमा ३ लाख बढी पुरस्कार पाउने छ।'

पुरस्कार राशीबारे चाँडै पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने पनि कोइरालाले बताए। यसैगरी प्रत्येक खेलको विजेता टिमले नगद २५ हजार प्रदान गर्ने आयोजकको तयारी छ।

यस्तै, उत्कृष्ट प्रशिक्षक, उत्कृष्ट गोलकिपर, उत्कृष्ट मिडफिल्डर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड, सर्वाधिक गोलकर्ता खेलाडी र फेयर प्ले टिमलाई पनि नगद पुरस्कारको व्यवस्था गरिने कोइरालाले बताए।

पछिल्लो संस्करणको उपाधि विजेता सशस्त्र प्रहरी बलको एपीएफ क्लबले नगद १५ लाख १५ हजार प्राप्त गरेको थियो। उपविजेता हुने टिमले ७ लाख ५१ हजार प्राप्त गरेको थियो।

विराट गोल्डकप चैत ९ गतेदेखि १७ गतेसम्म विराटनगरको शहीद रंगशालामा हुने तय भइसकेको छ। खेलहरू रातिको  समयमा फ्लड लाइटमा सञ्चालन गर्ने आयोजकको तयारी छ।

८ टिमले सहभागिता जनाउने प्रतियोगिता नकआउट पद्दतिमा हुनेछ।