काठमाडौं - राष्ट्रपति विद्यादेवी भण्डारीले संघ तथा प्रदेश सरकारले मुलुको हितका लागि केन्द्रित भएर काम गर्ने विश्वास व्यक्त गरेकी छन्।
संघीय संसदको दुवै सदनलाई सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले जनप्रतिनिधिहरूले जनताका आशा, विश्वास र भरोसाको सम्बोधन हुनेगरी कार्य सम्पादन हुने बताएकी हुन्।
'संघ तथा प्रदेश सरकारले आफ्नो समग्र ध्यान मुलुकको हितका लागि केन्द्रित गरी जनताका आशा,विश्वास र भरोसाको सम्बोधन हुनेगरी कार्य सम्पादन गर्नेछन्,'राष्ट्रपतिले भनिन्।
सम्बोधनका क्रममा राष्ट्रपतिले प्रतिनिधिसभाका नव निर्वाचित सांसदहरूलाई बधाइ दिँदै कार्यकालको सफलताको शुभकामना दिइन्।
प्रतिनिधिसभा र प्रदेश सभाको निर्वाचन शान्तिपूर्ण र निस्पक्षरुपमा सम्पन्न गर्ने नेपाल सरकार, निर्वाचन आयोग,राष्ट्र सेवक कर्मचारी राजनीतिक दल र मतदाताहरूलाई धन्यवाद दिइन्।
अर्थतन्त्र सुधारका लागि गरिने प्रयत्नमा ढिलाइ नगरौं
राष्ट्रपति विद्यादेवी भण्डारीले देशको अर्थतन्त्र गम्भीर अवस्थामा पुगेको बताएकी छन्। राष्ट्रपति भण्डारीले अर्थतन्त्र सुधारका लागि सरकारले गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था आइसकेको बताएकी हुन् ।
राष्ट्रपति भण्डारीले देशको आर्थिक अवस्था जटिल रहेको बताइन् । उनले भनिन्, 'अर्थतन्त्रको सुदृढीकरणमा गम्भीर किसिमको पाइला चाल्नुपर्ने अवस्था भइसकेको छ । यसको दिर्घकालीन समाधान खोज्न जरूरी छ । कमजोर आर्थिक वृद्धिदर र बढ्दै गएको व्यापार घाटालाई सम्बोधन गर्न आवश्यक छ । ’
राजस्वको क्षेत्र र दायरा विस्तार गर्दै राजस्व चुहावट नियन्त्रण गर्न आवश्यक नीति अवलम्बन गर्नुपर्ने उनको भनाइ छ। विनियोजित बजेटमध्ये पुँजीगत बजेट पूर्ण हुन नसकेको बताउँदै पुँजीगत बजेट कम खर्च हुँदा आर्थिक क्रियाकलापमा सुस्तता आएको उनको भनाइ छ।
लक्ष्यअनुसार राजस्व नउठ्दा आन्तरिक ऋणमा चाप परेको भन्दै यसका लागि सरकार गम्भीर हुनुपर्ने बताइन् । बढ्दो व्यापार घाटा कम गर्न आन्तरिक उत्पादन बढाउनुपर्ने राष्ट्रपतिले जोड दिइन्।
बढीभन्दा बढी सेवा स्थानीय तहबाट पुर्याऔं
राष्ट्रपति विद्यादेवी भण्डारीले आम नागरिकलाई राज्य उपस्थित छ भन्ने दिलाउन सेवा प्रवाह चुस्त दुरुस्त बनाउन सरकार प्रतिवद्ध भएर लाग्नुपर्ने बताएकी छिन्।
राष्ट्रपति भण्डारीले भनिन्, ‘सिप परीक्षण गर्ने कार्यलाई अघि बढाउन जरुरी छ। सुशासनको व्यवस्था मिलाउन र आम नागरिकमा राज्य उपस्थित छ भन्ने दिलाउन सेवा प्रवाह चुस्त दुरुस्त बनाउनुपर्छ। बढीभन्दा बढी सेवा स्थानीय तहबाट पुर्याउनु राम्रो हुन्छ। प्रदेश र संघ सरकार नीति योजना निर्माणमा लाग्दा उपयुक्त हुन्छ।’
दक्ष र उच्च दक्ष जनशक्ति उत्पादनलाई उच्च प्राथमिकता दिन जरुरी रहेको बताइन्। राष्ट्रपति भण्डारीले भनिन्,‘साक्षरता प्रवर्द्धनमा स्थानीय तहलाई स्रोत साधन उपलब्ध गराउन आवश्यक छ। जीवनोपयोगी पाठ्यक्रम आजको आवश्यकता हो। विश्वविद्यालयलाई शिक्षाको उत्कृष्ठ केन्द्रका रूपमा विकास गर्नुपर्छ। ’
0 comment