क्यान्सरबाट बच्न विभिन्न खोपको सुविधा छ। ह्युमनपापिलोमा भाइरस भन्ने एउटा भाइरस बिरूद्धको खोप छ। त्यसले पाठेघरको मुखको क्यान्सर मात्र होइन मलद्वारको क्यान्सरदेखि भलभल क्यान्सरको रोकथाममा समेत सहयोग गर्छ।
एचपिबीको भ्याक्सिन लगाइयो भने धेरै खालका क्यान्सर र विशेष गरेर पाठेघरको मुखको क्यान्सरबाट जोगाउने कुरा अध्यनले पुष्टि गरिसकेको छ।
हेपटाइटिस बी जुन भाइरस छ। त्यसविरूद्धको खोप लगाइयो भने कलेजोको क्यान्सरबाट जोगाउँछ।
‘ह्युमन पापिलोमा’ भाइरसको कारणले ७० प्रतिशत पाठेघरको मुखको क्यान्सर हुने रहेछ भन्ने प्रमाणित भएको छ। हामीले समयमै यसलाई निर्मुल गर्न खोप लगाए भने धेरै प्रभावकारी देखिएको छ।
त्यसैले समयमै खोप लगाइयो भने पाठेघरको मुखको क्यान्सर हुन ६० देखि ७० प्रतिशत रोक्न सक्छ। ११ वर्षदेखि १३ वर्षको उमेरमा खोप लगाउन सबैभन्दा राम्रो हो। सामान्यतया ९ देखि २५ वर्षसम्म धेरै प्रभावकारी हुन्छ।
यसअघि कुनै पनि संक्रमण भएको छैन भने २६ वर्षदेखि ४५ वर्षसम्मकलाई समेत यो खोप प्रभावकारी हुन्छ।
१५ वर्ष भन्दा तलको उमेरमा खोप लगाएमा २ डोज खोप लगाए पुग्छ तर त्यसपछि लगाएमा ३ डोज लगाउनुपर्छ।
नेपालमा यो खोप सरकारी तहबाट उपलब्ध छैन। तर विभिन्न संघ संस्था र निजी अस्पतालले खोप उपलब्ध गराउँछ। छोरीलाई मात्र होइन, छोरालाई समेत यो खोप लाभदायी छ।
मुखको क्यान्सर, लिङ्गको क्यान्सर, मलद्वारको क्यान्सरबाट जोगाउन समेत यो खोप उपयोगी छ। किशोरकिशोरी दुवैलाई उपर्युक्त हुन्छ। हामी छोरा छोरीलाई के-के गिफ्ट दिन्छौ। तर खोप लगाइदिने हो भने त्यो भन्दा ठूलो उपहार अरू केही हुँदैन।
सरकारी स्तरबाटै खोप ल्याउन पहल भएको छ। यो चाडै होस भन्ने हो।
यो खोप धेरै महंगो छैन। सरकारी तवरबाट नभए पनि आफैंले किनेर लगाउन सुझाव दिन्छु। किनकि धेरैतिर खर्च भइरहेको हुन्छ। तर खोपमा लगानी किन नगर्ने भन्ने हो। यो खोप एक डोजको ४ देखि ५ हजार रूपैयासम्म खर्च हुन्छ। सरकारीस्तरबाट खोप लगाउन हामी सबैले पहल गर्न जरूरी छ।
सुर्तीजन्य पदार्थ नखाने, व्यायाम गर्ने, विषादीयुक्त खाना नखाए क्यान्सरबाट बच्न सकिन्छ। कुनै लक्षण देखिएमा स्वास्थ्यकर्मीकहाँ जानुपर्छ, जसले गर्दा क्यान्सर निर्मूल पार्न सजिलो हुन्छ।
क्यान्सर लाग्दैमा निको नहुने होइन तर बेलैमा सचेत हुनुपर्छ।
क्यान्सर हुने सबैभन्दा ठूलो कारण मानिसको क्रियाकलाप नै है। चुरोट, खैनी, सुर्ती र गलत आहारा (जंक फुडलगायत)ले सबैभन्दा धेरै जोखिम निम्त्याउँछ।
यस्ता खानाले जिनमा परिवर्तन आउँछ, जसले गर्दा शरीरका कोषहरूको अनियन्त्रित रूपमा वृद्धि हुन्छ अनि क्यान्सरको रूप लिन्छ। संक्रमणले गर्दा पनि क्यान्सर हुन्छ। ५ देखि १० प्रतिशत क्यान्सर वंशाणुगत हुन्छ।
क्यान्सर भएको पहिलो चरणमा पत्ता लगाउन सकिन्छ। विभिन्न परीक्षण गरेर पत्ता लगाउन सकिन्छ। यसको लागि शरीरमा कुनै परिवर्तन आउनसाथ स्वास्थ्यकर्मीकहाँ जानुपर्छ।
नेपालमा आधुनिक खालको उपचार प्रविधि भित्रिसकेको छ। अप्रेसन गरेर, विकीरण दिएर, किमोथेरापी र इमिनोथेरापीलगायतका पद्धतिबाट क्यान्सरको उपचार गरिन्छ।
एक तिहाइ क्यान्सर जीवनशैली परिवर्तन गरेर लाग्न नदिन सकिन्छ। क्यान्सरबाट शतप्रतिशत बच्न सकिँदैन। तर, यसको सचेतना अपनाएर उपचार गर्न सकिन्छ।
क्यान्सरको कारण, उपचार र यस विरूद्धका खोपबारे हामीले वीर अस्पतालमा कार्यरत क्यान्सर रोग विशेषज्ञ डा. रमिला शिल्पकारसँग भिडिओ कुराकानी गरेका छौं।
स्रोत : सेतोपाती
0 comment