रामशरण पाण्डे 

२०५१ सालमा प्रधानमन्त्री गिरिजा प्रसाद कोइरालाद्वारा संसद विघटन हुँदै थियो, तर नेपालका राजनीतिक दल, नेपाली  गुप्तचर कसैलाई पनि थाहा थिएन, तर त्यसको जानकारी इन्डियन दुतावासलाई थियो।  

पछि नेपालमा गणतन्त्र घोषणा भयो।  विभिन्न सरकार बन्ने भत्कने क्रममा  तत्कालिन माओवादी  केन्द्रका नेता डा. बाबुराम भट्टराई प्रधानमन्त्री थिए ।  संविधान सभाको अन्तिम दिन रातको १० बज्दै थियो।  धेरै नेताहरु संविधान सभाको म्याद थप्ने  विषयमा छलफल गर्दै थिए । सत्ताधारी पार्टीका अध्यक्ष प्रचण्ड  कुनामा बसेर  सहयोगी संग कुरा गर्दै थिए। शेरबहादुर देउवा, माधव नेपाल लगायत नेताहरु यता उता गर्दै थिए । रात छिप्पिँदै थियो, संसद भवनमा संसदहरु राति जात्रा गए जसरी रमिते बनेर बसिरहेका थिए। अब के हुन्छ उनीहरुलाई केहि थाहा थिएन । यस्तो अवस्थामा नेपालका सांसदले  जनताले तिरेको करलाई जागिरका रुपमा बुझ्नु भन्दा केहि थिएन। 
 
उता नेपालको राष्ट्रपति रामवरण यादव भारतीय दुतावास मार्फत दिल्लीसंग  विलाप गर्दै थिए । यत्तिकैमा भारतीय मिडियाबाट समाचार बाहिरिन्छ ,नेपालमा संविधान सभा विघटन, मङ्सिर ७ गते चुनाव हुँदै।  नेपाली राजनैतिक दल र नेताहरुलाई थाहा हुँदैन  तर विदेशी गुप्तचरहरुलाई  सबै जानकारी हुन्छ। इन्डियन मिडियाद्वारा नेपालीले सुचना पाउने गर्दछन् भने यस्तो एजेन्ट गिरि राजनेताहरु र ब्यबस्था नेपालीलाई किन चाहियो ? 

निवर्तमान प्रधानमन्त्री ओली सर्वसाधारण मानिसलाई मात्र होइन नेपालका जानकार भन्ने एक तप्काका व्यक्तिहरुलाई लाग्छ नेपालको धुरन्धर राष्ट्रवादी हुन्।  यिनै ओलीले  तत्कालिन संसद अकास्मात  विघटन गर्दछन्,उनैको पार्टीको शिर्ष नेताहरुलाई थाहा हुन्न। ,विपक्षिहरुलाई थाहा हुने कुरै भएन। यस्तो गोप्य  राखिएको कुरा भारतीय गुप्तचरलाइ थाहा हुन्छ । उनीहरुले आफ्नो देशमा सुचना गर्दछन् । नेपालमा एक महिना देखि रहेर मेहनतका साथ गरेको काम सफल भएको समाचार बाहिरिन्छ। विभिन्न इन्डियन मिडियामा समाचार प्रसारण हुन थाल्छ नेपालमे ड्रेगन हारा इन्डिया जिता।  त्यसैको आधारमा  नेपालीहरुले जानकारी पाउछन् "ए संसद त विघटन पो भएछ"।
  
यी र यस्तै घटनालाई गहिरो अध्ययन गर्ने हो भने लाग्छ  के यो व्यवस्थाका चालकहरु सबै बाहिरका योजनामा काम गर्ने कर्ता मात्र हुन् ? यिनिहरु नाम जे होस् काम कसैको निर्देशनमा गर्ने गर्दछन्।  ,हिजो प्रजातन्त्रको नाममा इन्डियाको हितमा  काम गरे आज संघीय गणतन्त्रको नाममा इन्डिया त छँदै छ, पश्चिमा शक्तिहरुको लागि काम गर्छन्।  अनि हामि विभिन्न पक्ष र विपक्ष बनेर सडक तताउँछौ ,ने क पा ओली जिन्दावाद, नेकपा प्रचण्ड ,माधव जिन्दावाद, शेरबहादुर जिन्दावाद, नेपाली कांग्रेस जिन्दावाद । त्यति मात्र होइन आजकाल त राप्रपा जिन्दावादको नाराले सडक तताउँदै छ । हामि विभाजित छौँ, नेपाली विभाजित छन् ,त्यतातिर कसैको ध्यान जाँदैन । सब भन्दा दुर्भाग्य त यो  छ कि हाम्रा नेताहरु कसका लागि काम गर्दछन्  त्यो चाँही कसैलाई पत्तै पो हुन्न त। यो भन्दा सचेत कुन देशका जनता होलान् ?  यो भन्दा चलाख वुद्धिजिवी काँहा  होलान् ? अनि  यस्ता धुरन्धर उच कर्मचारी अन्यत्र कहाँ पो  होलान् ? हामि जनताको त कुरै छाडौँ। अरुको कुरा छाडौँ यो देशमा एमाले पार्टीको मात्र मेयर उप-मेयर अध्यक्ष उपाध्यक्ष वडा अध्य्क्ष, महिला सदस्य र सदस्य गरि चौध हजार एक सय सदस्य निर्वाचित छन्। यता कांग्रेसको देश भर एघार हजार चार सय छपन्न जना निर्वाचित कार्यकर्ता छन्  जसलाई  पार्टीको एउटा महत्वपूर्ण खम्बा र स्थानीय सरकार पनि  भनिन्छ। जसको काम जनताहरुमा जबर्जस्ती कर असुली गर्ने र तलब भत्ता खाने, विकासको नाममा आफु र आफन्त कसरि मोटाउने भन्दा  केहि काम हुन्न। अरु काममा फुर्सद हुन्न। यिनीहरुलाई नेतृत्वले जे गरोस् मतलब छैन । मतलब त यो छ, कसरि नेतृत्वको नजिक बन्ने र  भविष्यमा  अझ लुट्ने मौका हात  लगाउने । हामि आम जनता पढे लेखेकै छौँ  सामाजिक संजालमा तर्कशील नै छौँ  तर यो मुलुकका निर्वाचितहरुले के गरिरहेका छन् ? खोजि गर्न सक्दैनौँ । अब भन्नुस यो भन्दा दुर्भाग्य के नै हुन्छ ? वाह रे राष्ट्रवाद !