काठमाडौं - भारत दिल्लीका सडकहरूमा फेरि प्रदर्शनको लहर सुरु भएको छ । सोमबार भएको तनावपूर्ण झडपपछि आज ककरोच जनता पार्टी (सीजेपी) ले जन्तर–मन्तरमा प्रदर्शन गरिरहेको छ भने, अर्कोतर्फ पञ्जाबबाट हजारौं किसानहरू भारत–अमेरिका व्यापार सम्झौताविरुद्ध शम्भू–खनौरी सीमामा भेला भएका छन् ।
सोमबारको प्रदर्शनमा भएको हिंसात्मक झडपपछि दिल्लीमा सुरक्षा व्यवस्था थप कडा बनाइएको छ । त्यसका बाबजुद सीजेपीले आफ्नो आन्दोलन जारी राखेको छ । जन्तर–मन्तर र संसद क्षेत्र वरिपरि प्रदर्शनकारी र सुरक्षाकर्मीको बाक्लो उपस्थिति देखिएको छ । यता किसानहरूले प्रस्तावित भारत–अमेरिका व्यापार सम्झौताले भारतीय कृषि र दुग्ध क्षेत्रलाई नोक्सान पुग्ने भन्दै विरोध प्रदर्शन गरिरहेका छन् । उनीहरू सरकारसँग सम्झौताबारे पुनर्विचार गर्न र किसानका हित सुरक्षित गर्न माग गरिरहेका छन् ।
किसानहरूको दिल्ली मार्चलाई मध्यनजर गर्दै हरियाणा–पञ्जाब सीमामा ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । घग्गर नदीमाथिको पुलमा समेत ब्यारिकेड राखेर आवागमनमा निगरानी बढाइएको छ । पञ्जाबका किसानहरू ‘देश बचाओ मोर्चा’ अन्तर्गत किसान घाट पुगेर एक दिने किसान महापञ्चायत आयोजना गर्न चाहन्छन् । उनीहरूले अमेरिका–भारतबीच प्रस्तावित व्यापार सम्झौता किसानविरोधी रहेको बताएका छन् ।
पञ्जाबका विभिन्न जिल्लाबाट किसानहरू बसमा सवार भएर दिल्लीतर्फ प्रस्थान गरेका छन् । फतेहगढ साहिबमा सञ्चारकर्मीसँग कुरा गर्दै किसान नेता पढेरले हरियाणाका मुख्यमन्त्रीले आफ्नो वास्तविक चरित्र देखाएको आरोप लगाए । उनका अनुसार नेताहरूले जनतासँग ठूला–ठूला वाचा गर्ने तर सत्तामा पुगेपछि दमनको नीति अपनाउने गरेका छन् ।
उनले अमेरिका–भारत व्यापार सम्झौता पूर्ण रूपमा रद्द गर्नुपर्ने माग दोहोर्याए । उनले शम्भू सीमामा पुगेपछि किसानहरूसँग छलफल गरेर आन्दोलनका आगामी कार्यक्रम तय गरिने बताए । बिहीबार बिहानै फतेहगढ साहिबबाट एक हजारभन्दा बढी किसान सहभागी टोली शिरहिन्द हुँदै शम्भू सीमातर्फ अघि बढेको थियो ।


0 comment