काठमाण्डौं – बझाङको केदार स्युँ गाउँपालिका – ९ मा रहेको जवा प्राथमिक विद्यालयमा १ सय ३० जना बालबालिका अध्ययन गर्छन् तर त्यस विद्यालयमा पठन पाठनलकालागि जम्मा दुई शिक्षिकाको भरमा रहेको छ ।
शिशुदेखि कक्षा ३ सम्म अध्यापन हुने उक्त विद्यालयमा न त खानेपानीको व्यवस्था छ, न कक्षाकोठा नै । भवनको अवस्था जीर्ण छ । विद्यालयको छानाबाट वर्षातमा पानी र हिउँदमा शीत चुहिन्छ । स–साना बालबालिकाहरु भुइँमा बसेर पढ्छन् ।
उक्त विद्यालयमा प्राय जसो दलित समुदायका बालबालिकाहरु अध्ययन गर्ने गर्छन् तर त्यस विद्यालयमा अध्यापन गराउँने जम्मा दुई शिक्षिका रहेका छन् । जम्मा ३ कोठा रहेको विद्यालयमा एउटा कोठामा कार्यालय र अर्का दुई कोठामा विद्यार्थी राखेर अध्यापन गराईन्छ । कक्षाकोठाको अभाव हुँदा विद्यार्थीहरु पढ्नका लागि या त पालो कुर्नुपर्ने हुन्छ या त कक्ष २ र ३ का विद्यार्थीहरुलाई एउटै कक्षामा रखेर पढाउँनु पर्ने हुन्छ ।
पाठ्यक्रम फरक–फरक भएको हुँदा यसरी संगै बसेर पढाउँदा केही न बुझिने कक्षा ३ मा अध्ययनरत छात्रा लक्ष्मी वि.क.ले आफ्नो गुनासो सुनाईन । शिक्षक पनि छैनन् कतिबेला पढ्न पाइन्छ भनेर हामीले पालो कुरेर बस्नुपर्छ उनले सुनाइन् ।
विद्यालयमा कार्यरत शिक्षिका मञ्जु विक कोठा अभावका कारण कहिलेकाहीँ विद्यालय छिट्टै छुट्टी दिने गरेको बताई । एउटै कक्षामा कक्षा २ र ३ का विद्यार्थी राखेर पढाउँदा गुणस्तरीय शिक्षाको कल्पनै गर्न सकिँदैन । एकतर्फ पढाउन खोज्यो अर्कोतर्फका विद्यार्थीले हल्ला गर्छन् । तैपनि, सिकाइ प्रभावकारी हुन्छ कि भनेर शैक्षिक सामग्री प्रयोग गरेर, गृहकार्य दिएर पढाउँदै आएका छौँ उनले बताईन ।
विद्यालयका प्रधानाध्यापक आशा सिंह शाही विद्यालयको अवस्थाबारे सम्बन्धित निकायलाई जानकारी गराए पनि समाधान हुन नसकेको बताउनु हुन्छ । उहाँ भन्नुहुन्छ ‘केही समयअघि पालिकाले स्वयम्सेवक शिक्षक उपलब्ध गराएको थियो । तलब कम भएको भन्दै उहाँ विद्यालय छाडेर भारत गएपछि थप समस्या भएको छ । विद्यालयको भौतिक संरचनाका बारेमा हामीले वडाबाट निर्वाचित भएका सबै जना प्रतिनिधिदेखि गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, अन्य कर्मचारीहरुलाई पटक पटक जानकारी गराइसकेका छौँ । सुनुवाइ हुनसकेको छैन। काम विशेषले एक शिक्षिका नआउँदा विद्यालय नै बन्द गर्नुपर्ने अवस्था आउने उहाँले बताउनु भयो । विद्यालयको नाजुक अवस्था देख्दा निक्नै दुस्ख लाग्ने स्थानीय बताउँछन् । स्थानीय गेडे कामी भन्नुहुन्छु विद्यालयको भवनको माग गरेको वर्षौँ भयो । कसैले पनि हाम्रो आवाज सुनिदिएको छैन । सबै विद्यार्थीहरुलाई एउटै कक्षामा राखेर पढाउनु परेको छ । चन्दा सङ्कलन गरेर विद्यालयमा केही काम गरौँ भने त्यो पनि सम्भव छैन । केदार स्युँ गाउँपालिकाका अध्यक्ष गणेश बहादुर बोहोरा, उपाध्यक्ष मनिसा धामी र प्रमुख प्रशासकीय अधिकृत पदम उपाध्यायसहितको टोलीले विद्यालयको स्थलगत निरीक्षण गरेको थियो ।
गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले विद्यालयको निरीक्षण गरेको र तत्काल पालिकामा भवन निर्माणका लागि रकम नरहेको तर केही समयभित्रै बजेट विनियोजन गर्नेगरी काम अघि बढाइएको बताएका छन् ।
0 comment