कुनै पनि व्यवस्था वा शासन प्रणाली आफैंमा पूर्ण हुँदैन। समयको गतिसँगै हरेक व्यवस्थाले राजनीतिक, आर्थिक, सामाजिक वा नैतिक संकटको सामना गर्नुपर्ने हुन्छ। तर, कुनै पनि व्यवस्था कति बलियो छ भन्ने कुरा संकटको आगमनले होइन, त्यस संकटलाई नेतृत्वले कसरी व्यवस्थापन गर्छ भन्ने कुराले निर्धारण गर्छ।
इतिहास साक्षी छ—जुन नेतृत्वले संकटको घडीमा धैर्यता र विवेकपूर्ण निर्णय लियो, उसले व्यवस्थालाई मात्र जोगाएन, इतिहासमा आफ्नो नाम स्वर्ण अक्षरले लेखायो। यसको विपरित, जुन नेतृत्व आवेग, अहंकार र सत्ता जोगाउने संकुचित स्वार्थमा अन्धो भयो, उसले आफ्नै पतनको बाटो आफैं खन्यो।
संकटमा नेतृत्वको जिम्मेवारी र भ्रम:-
जब शासन व्यवस्था संकटमा पर्छ, त्यतिबेला जिम्मेवार नेतृत्वको पहिलो कर्तव्य जनताको विश्वास जित्नु, कानुनी शासनलाई बलियो बनाउनु र संवादको माध्यमबाट निकास खोज्नु हो। दुर्भाग्यवश, कतिपय शासकहरू समस्याको मूल जरो पहिल्याउनुको सट्टा केवल "सत्ता कसरी जोगाउने?" भन्ने चिन्तामा लिप्त हुन्छन्। परिणामस्वरुप:
- उनीहरू हतारहतारमा अदूरदर्शी निर्णय गर्छन्।
- वैचारिक विरोधीहरूलाई बलपूर्वक दबाउने प्रयास गर्छन्।
- राज्यका स्वतन्त्र संस्थाहरूलाई आफ्नो व्यक्तिगत वा दलीय स्वार्थका लागि दुरुपयोग गर्छन्।
- नयाँ-नयाँ राजनीतिक जालझेल र प्रपञ्च रचेर केही समयका लागि सत्ता टिकाउने भ्रम पाल्छन्।
यस्ता हर्कतहरूले तत्कालका लागि शासकलाई सुरक्षित देखाए पनि दीर्घकालमा यसले संकटलाई झन् विकराल बनाउँछ। शक्ति, झुटो प्रचार वा षड्यन्त्रले सत्ता केही समयका लागि त धानिएला, तर जनविश्वास बिना त्यो कहिल्यै स्थायी हुन सक्दैन। इतिहासमा ठूला-ठूला साम्राज्य र शासन व्यवस्थाहरू बाह्य आक्रमणले भन्दा बढी आन्तरिक गलत निर्णय, अहंकार र जनभावनाको उपेक्षाका कारण ढलेका छन्।
अहंकार: पतनको पहिलो पाइला:-
संकटको समयमा नेतृत्वको सबैभन्दा ठूलो शत्रु उसको आफ्नै 'अहंकार' हो। जब शासकले आफूलाई अचुक र सर्वज्ञानी ठान्न थाल्छ, रचनात्मक आलोचनालाई शत्रुताको रूपमा बुझ्छ र जनताको आर्तनादलाई बेवास्ता गर्छ, तब उसको पतनको उल्टो गन्ती सुरु भइसकेको हुन्छ। सत्ता जतिसुकै शक्तिशाली र सुदृढ देखिए पनि त्यो समय, सत्य र जनमतभन्दा ठूलो कहिल्यै हुन सक्दैन। हाम्रा धार्मिक तथा ऐतिहासिक ग्रन्थहरूले पनि यही शाश्वत सत्यलाई प्रष्ट पारेका छन्। महाभारतको युद्ध हुनुअघि दुर्योधनलाई विनाशतर्फ नजान अनेकौं चेतावनी र संकेतहरू दिइएका थिए। महात्मा विदुरले नीतिशास्त्र सुनाए, पितामह भीष्म र गुरु द्रोणले सम्झाए, र स्वयं भगवान श्रीकृष्णले शान्तिको दूत बनेर युद्ध टार्ने अन्तिम प्रयास गरे। तर, अहंकारले अन्धो बनेको दुर्योधनले आफ्नो हठ त्यागेन। उसले शक्ति र सङ्ख्या बललाई नै विजयको अचुक हतियार ठान्यो।
परिणाम के भयो?
विशाल राज्य, अपार सेना र अपराजेय सामर्थ्य हुँदाहुँदै पनि अन्याय र अहंकारका कारण दुर्योधनको सम्पूर्ण वंश विनाश भयो। यो कथा केवल एउटा धार्मिक घटना मात्र होइन, यो त संकटको बेला विवेक गुमाउँदा आउने परिणामको शाश्वत चेतावनी हो ।
इतिहासको अन्तिम फैसला:-
आजको आधुनिक युगमा पनि यो शिक्षा उत्तिकै सान्दर्भिक छ। संकटको बेला हतारमा चालिने कदम, कानुनलाई आफ्नो अनुकूल मोड्ने प्रपञ्च, जनमतलाई दबाउने प्रवृत्ति वा सत्ताको आयु लम्ब्याउन गरिने कुनै पनि खेलले क्षणिक राहत त देला, तर इतिहासको अदालतमा त्यसको मूल्यांकन फरक ढंगले हुन्छ। इतिहासले अन्ततः निर्णयको पछाडि रहेको नियत, न्याय र त्यसको दीर्घकालीन परिणामलाई नै हेरेर फैसला सुनाउँछ।
सत्तामा बस्नेहरूले सदैव एउटा कुरा मनन गर्नैपर्छ सत्ता र कुर्सी स्थायी होइनन्, तर कुर्सीमा बसेर गरिएका निर्णयका प्रभावहरू स्थायी र दीर्घकालीन हुन्छन्। जनताले केही समयका लागि अन्याय सहलान्, तर त्यसलाई अनन्तकालसम्म स्वीकार गर्दैनन्। लोकतन्त्र होस् वा अन्य कुनै व्यवस्था, त्यसको आयु केवल जनविश्वास, पारदर्शिता, उत्तरदायित्व र न्यायमा मात्र टिकेको हुन्छ।
संकटको घडीमा नेतृत्वलाई आवेग होइन, विवेक चाहिन्छ। सत्ता जोगाउने खुद्रा चालबाजीभन्दा देश र व्यवस्था जोगाउने बृहत् निर्णय सधैं महान् हुन्छ। इतिहासको कठघरामा अन्तिम फैसला शक्तिको मात, झुटो प्रचार वा षड्यन्त्रले होइन; सत्य, न्याय र जनविश्वासको कसीमा हुन्छ। यही नै इतिहासको सबैभन्दा ठूलो र कहिल्यै नमेटिने पाठ हो।



0 comment