विजयमणि आ.दी

“पाप धुरी चढे कराउँछ” भन्ने उखान चरितार्थ गर्दै कथित राष्ट्राध्यक्ष एवं सार्वभौम तत्कालीन प्रधानमन्त्री गिरिजाबाबुले सगौरव कान्तिपुर टेलिभिजनबाट आफ्नो आत्मवृत्तान्त प्रस्तुत गर्दा आफ्नो अपराधी चरित्र प्रस्तुत गर्न पुग्नु र त्यसलाई लिएर भएको आलोचनाबाट अत्ताल्लिएर त्यो बन्द गरिनुले, त्यस कालखण्डको इतिहासलाई एक नयाँ कथा प्रदान गरेको छ ।

भारतीय तस्करहरुसित वहाँको निकटता, भारतमा नक्कली नोट छाप्न र चलाउन पाएको छुट, प्लेन हाइज्याकिङ्ग गराए पनि हातहतियारसम्म राख्न र नेपाल विरुद्ध सशस्त्र संघर्ष गर्न दिइएको छुट र वहाँको भारतीयगुप्तचर संस्था ‘र’ का साथै भारत सरकारसँग रहेको प्रगाढ सम्बन्धलाई सुस्पष्ट पारेकै छ । वहाँले जाली नोटको कारोबारमा ख्याति प्राप्त आफ्ना दाजु बी.पी.(सान्दाई) को पनि संलग्नता देखाएर के प्रमाणित गर्न खोज्नुभएको हो थियो ? त्यो त उहाँले प्रष्ट नपारिकनै जानुभयो तर २००७, ०४६ र ०६२/६३ को राजनीतिक परिवर्तन र त्यसको वास्तविक पक्षतिर ध्यान दिने हो भने नेपालमा प्रजातन्त्रको नाममा गरे, गराइएको भयानक षड्यन्त्रहरु स्पष्ट हुने छन् । राज्य शासनको समाप्ती पश्चात्, यस ६८ वर्षको इतिहासमा भएका यी तीन सफल क्रान्तिको कारकत्व भारत नै हो भन्ने कुरामा दुईमत हुनै सक्दैन । गौरवमय इतिहास र संस्कृति बोकेको यो सानो राष्ट्र राणा शासनसम्म विश्वमा गरिबी रेखामा २७औँ स्थानमा थियो भने प्रजातन्त्रको यस कालखण्डमा यो पहिलो स्थानमा पुग्न अफ्रिकी राष्ट्र चाडसँग तँछाडमछाड गरिरहेछ । सम्वभवतः अहिलेकै अवस्था रहिरहेमा प्रथम हुन निश्चित छ । गौरवमय इतिहास र संस्कृति बोकेको यो राष्ट्र आज सक्षम र दुरदर्शी नेतृत्वको अभावमा विखण्डनतिर उन्मुख गराइएको छ– श्री ५ पृथ्वीनारयाण शाहदेखि, आदिकवि भानुभक्त, श्री ५ हरु त्रिभुवन, महेन्द्र, वीरेन्द्रका साथै गणेशमानजी र वीपी कोइरालासम्मका सालिक भत्काएर, राष्ट्रिय एकताका प्रतीक एवं मूल्य र मान्यताहरुलाई लत्याएर गरे गराइएको जातीय राज्यको मागले मुलुकको अखण्डता एकता र स्वतन्त्रतामाथि नै आघात पुग्न सक्नेछ । यसको दुरगामी प्रभाव पर्ने कुरालाई नकार्न सकिन्न । यसको पछाडि पनि भारतीय ‘डिभाइड एण्ड ल’ को थ्योरीले काम गरेको छैन भन्न सकिन्न । प्रजातन्त्रको नाममा नेपालको ठूलै भूभाग भारतभित्र पसाली सकिएको छ । श्री ३ जंगबहादुरले नेपाल र तत्कालीन ब्रिटिश भारत सरकारबीच गरिएको सन्धि र सीमा निर्धारण अनुसार अजङ्ग अजङ्गका सीमास्तम्भहरु गाडिएर मेचीदेखि महाकालीसम्म भारत सरकारद्वारा नै गराइएको सर्वेक्षण अनुसार तयार गरिएको नक्सा नै सन् ५० सम्म नेपालको आधिकारिक मानचित्र थियो । २००७ साल पछि आज भएको नेपालको नक्सा कसले तयार पार्‍यो ? कहिले तयार गरियो र नेपालको एक ठूलै भूभाग भारतमा कसरी गाभिन गयो भन्ने कुराको आजसम्म खोजविन भएन । नेपालको आधिकारिक पुरानो नक्सा र सीमाको यथार्थ विवरण परराष्ट्र मन्त्रालयमा छँदैछ । नेपालको त्यसकालको नक्सा १५ थान जति अद्यापि पराराष्ट्र मन्त्रलायमा छ भनिन्छ । त्यो नक्सा भारत सरकार तथा बेलायतसँग पनि यद्यपी छँदैछ ।

श्री ३ जंगबहादुर टिष्टादेखि सतलजसम्मको नेपालको भूभाग तत्कालीन भारत सरकारलाई फर्काउन दबाब दिँदा भारतले नयाँ मुलुक भनिने बाँके, बर्दिया, कैलाली, कञ्चनपुर फर्काएर अरु जग्गा पछि फर्काउने वाचा गरेको थियो । यसरी तयार गरे गराइएको नेपालको आधिकारिक नक्सामा प्रजातन्त्रको नाममा सत्ता परिवर्तनपछि नेपालको नक्सा नै परिवर्तन कसरी भयो ? खोजीको विषय बनेको छ । भारतको विस्तारवादी चरित्र र हैकमवादको यो भन्दा ज्वलन्त उदाहरण र प्रमाण अरु के चाहिन्छ ? ०४६ पछि भएका भ्रष्टचारका काण्डैकाण्डका साथै भारतीय राजदूतावासको बढे बढाइएको हैकमवाद, प्रारम्भ भएको माओवादी जनयुद्ध, भारतद्वारा खडा गरिएको, भुटानी शरणार्थी समस्या, मेचीदेखि कालीसम्म सीमा अतिक्रमण सुस्ता कालपानीका समस्या भारतकै दबाबमा पारित नागरिकता विधेयक र बाँडिएको व्यापक नगारिकता इत्यादिले के संकेत गर्दछ ? भारतमै चर्चामा आएको भयानक दरबार काण्डमा ‘र’ को भूमिका थियो भन्ने चर्चा इत्यादीले यस राष्ट्रको तथाकथित सार्वभौम जनता, प्रजातन्त्र र गणतन्त्रका नाममा स्वतन्त्रता नै समर्पण गरिने षड्यन्त्र त होइन भन्ने स्वाभाविक प्रश्न उठाउँदैछ ? त्यस १६ वर्षे प्रजातन्त्र पुनस्र्थापनाकालमा राजा संवैधानिक भएर बसे पनि यस्ता काण्ड कसरी र किन भए ? मुलुकमा प्रजातन्त्र स्थापना किन हुन सकेन ?

आफ्नो मुलुकको नक्साको र यथार्थ सीमासम्मको ज्ञान नभएका ३ दलको नेतृत्ववर्गले सर्वप्रथम नेपालको यथार्थ सीमा कुन हो, त्यसको सत्य तथ्य के हो, कथित सार्वभौम जनतालाई सुसुचित गर्नुपर्‍यो । ०६२/०६३ को आन्दोलन भारतमै गराइएको मेलमिलाप र १२ बुँदे समझदारीबाटै भएकाले उपरोक्त विषयहरुमा वर्तमान अन्य नेताहरु पनि स्व. गिरिजाबाबु जस्तै भारतबाटै सञ्चालित होइनन् भने नेपालको आन्तरिक मामिलामा र सीमा अतिक्रमणमा भारतीय भूमिका छ छैन त्यसको खुलासा हुनुपर्‍यो ।

राष्ट्रवादी नेताहरु यदि यस देशमा भए जनतालाई सत्य के हो त्यसको जानकारी गराइनु पर्‍यो । यदि मैले उठाएका यी सबै तथ्यहरु सत्य हुन् भने यो भन्दा ठूलो अर्को समस्या हुनै सक्दैन । सबै एक भएर दलीय स्वार्थ त्यागेर राष्ट्र जागाउन जुर्मुराउनु पर्‍यो । अन्यथा यस राष्ट्रको औचित्य नै समाप्त भएकै छ/हुने नै छ । यो पनि सिक्किम या भुटान हुन अब धेरैबेर लाग्ने छैन भन्नै पर्दछ ।

आफ्नो सिमाको रक्षा गर्नसम्म नसक्ने जनताको ज्यानधनको रक्षा गर्न नसक्ने तथाकथित क्रान्तिबाटै स्थापित भएको भनिएको दलबाट समेत तीन सरकार बनिसक्दा पनि मुलुकमा शान्ति सुव्यवस्था र दण्डहीनताको अवस्था समाप्त छ । यसले राष्ट्रलाई कहाँ पुर्‍याउने हो भन्नै सकिन्न । सर्वमान्य, सर्वशक्तिमान अत्यन्त शक्तिशाली पालैपालो कथित राष्ट्राध्यक्ष बनेका तीन दलका अध्यक्षहरुले अवश्य राष्ट्रको भविष्य कस्तो हुने हो संविधानसभा भनेको के हो? प्रष्टैसँग बुझ्नुपर्ने हो । विभिन्न तहको निर्वाचन हुँदैमा के राष्ट्रका यी जाज्वल्यमय समस्याहरु त्यसै समाधान हुन्छन् त? आफ्नो मुलुकको सीमासम्म निर्धारण गर्न नसकिने स्थितिमा गरिएको कुनै पनि चुनाव वैधानिक हुन्छ त ? प्रजातन्त्र भए उत्तर अवश्य पाइएला ? अन्यथा जय देश !!