काठमाडौं - इरान र इजरायलले एकअर्काविरुद्धका आक्रमणहरू रोकिएको बताएका छन्। अप्रिलमा भएको युद्धविरामपछि यी दुई देशबीच पहिलो पटक प्रत्यक्ष रूपमा आक्रमण र प्रत्याक्रमण भएको थियो।

इजरायलका प्रधानमन्त्री  वेन्जामिन नेतान्याहुले  सोमबार आफ्नो देशले "हालका लागि" आक्रमण रोकिरहेको बताएका छन्। तर उनले इरान र हिजबुल्लाह विरुद्धको संघर्ष अझै समाप्त नभएको पनि स्पष्ट पारे।

यसअघि केही घण्टा अगाडि इरानका सशस्त्र बलहरूले इजरायललाई "पीडादायी जवाफ" दिइसकेपछि आफ्ना सैन्य कारबाहीहरू रोकिएको घोषणा गरेका थिए।

इरानले चेतावनी दिँदै भनेको छ कि यदि इजरायलले थप आक्रमण गर्‍यो भने विशेष गरी लेबनानमा जहाँ इजरायली सेना इरान समर्थित हिज्बुल्लाहसँग लडिरहेको छ, अझ कडा र विनाशकारी कदम चालिनेछ।

तेहरानले आइतबार बेरुतमा भएको एक आक्रमणको प्रतिशोधस्वरूप इजरायलतर्फ क्षेप्यास्त्र प्रहार गरेको थियो।

त्यसको जवाफमा इजरायलले सोमबार बिहान सबेरै इरानभित्र रहेका आफूले सैन्य लक्ष्य भनेका स्थानहरूमा आक्रमण गरेको जनाएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  इजरायली प्रधानमन्त्री नेतन्याहुले आफ्नो इच्छाविपरीत आक्रमण गरेको भन्ने आरोप अस्वीकार गरे।

उनले भने, "होइन, होइन। उनीहरू पहिले नै गइसकेका थिए। उनीहरू पहिले नै आफ्नो बाटोमा थिए।"