काठमाडौं - फिलिपिन्सको दक्षिणी क्षेत्रमा ७.८ म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। स्थानीय समय अनुसार बिहान ७:३७ बजे गएको उक्त भूकम्पको केन्द्रविन्दु जमिनको सतहभन्दा १० किलोमिटर गहिराइमा रहेको अमेरिकी भूवैज्ञानिक सर्वेक्षण (यूएसजीएस) ले जनाएको छ। शक्तिशाली भूकम्पपछि त्यस क्षेत्रमा निरन्तर ठूला पराकम्पहरू (आफ्टरशक्स) महसुस गरिएका छन्।

भूकम्प लगत्तै फिलिपिन्सको मिन्डानाओ क्षेत्रका केही तटीय इलाकाहरूमा सुनामी आउन सक्ने आशंका गर्दै सतर्कता अपनाउन भनिएको छ। तटीय क्षेत्रका बासिन्दालाई सुरक्षित र उच्च स्थानतर्फ जान अपिल गरिएको छ भने भूकम्प प्रभावित क्षेत्रमा विद्युत आपूर्ति अवरुद्ध भएको छ।

फिलिपिन्स इन्स्टिच्युट अफ भोल्कानोलोजी एन्ड सिस्मोलोजीका अनुसार मुख्य भूकम्पपछि अहिलेसम्म कम्तीमा १६ वटा पराकम्पहरू रेकर्ड भइसकेका छन्। यी पराकम्पहरूको तीव्रता १.३ देखि ६.७ म्याग्निच्युडसम्म रहेको छ, जसका कारण सर्वसाधारणमा त्रास फैलिएको छ। भूकम्पबाट भएको क्षतिको पूर्ण विवरण भने आउन बाँकी छ।

यसैबीच, भूकम्पको असर छिमेकी देश इन्डोनेसियामा समेत देखिएको छ। इन्डोनेसियाको मौसम, जलवायु तथा भूभौतिकी एजेन्सी (बीएमकेजी) का अनुसार स्थानीय समय अनुसार बिहान करिब ७:२० बजे देशका तटीय क्षेत्रका तीन स्थानमा सुनामीका लहरहरू प्रत्यक्ष देखिएका हुन्।

बीएमकेजीका अनुसार उत्तर मलुकु प्रान्तको केदी, उलु सियाउ र मेलोनगुआनेमा सुनामीका लहरहरू देखिएका हुन्। यद्यपि, यी लहरहरूको उचाइ ०.०९ मिटरदेखि ०.१९ मिटरको बीचमा मात्रै रहेकाले अहिलेसम्म ठूलो क्षतिको खबर छैन। अर्कोतर्फ, जापानले पनि सम्भावित खतरालाई ध्यानमा राख्दै सुनामीको चेतावनी (Tsunami Advisory) जारी गरेको छ। जापानी अधिकारीहरूले स्थानीय समय अनुसार बिहान ११:०० बजेसम्म देशको दक्षिणी ओकिनावा टापु र प्रशान्त तटीय क्षेत्रका प्रान्तहरूमा १ मिटरसम्म अग्लो सुनामीको लहर आउन सक्ने भन्दै तटीय क्षेत्रका नागरिकहरूलाई सचेत रहन आग्रह गरेका छन्।