काठमाडौं - अमेरिकी सेनाले होर्मुज स्ट्रेटतर्फ पठाइएका इरानका चारवटा ड्रोनलाई ध्वस्त पारेकाे दाबी गरेको छ।अमेरिकी सेन्ट्रल कमान्ड (सेन्टकम)ले शनिबार बिहानै यसको जानकारी दिएको हो ।

सेन्टकमले सामाजिक सञ्जाल एक्समा लेखेको छ, 'केही समयअघि अमेरिकी सेनाले इरानका चारवटा ‘वान-वे अट्याक ड्रोन’ लाई खसालेको छ, जुन होर्मुज स्ट्रेटतर्फ पठाइएका थिए । यी ड्रोनहरू त्यस क्षेत्रको समुद्री यातायातका लागि ठुलो खतरा बनेका थिए ।'

अमेरिकी कमान्डले अगाडि भनेको छ, 'थप सम्भावित आक्रमणहरू रोक्नका लागि अमेरिकी बलले गोरुक र केसाम टापुमा रहेका इरानका रडार केन्द्रहरूमा समेत हमला गरेको छ ।'

यस घटनालाई लिएर इरानले भने हालसम्म कुनै पनि सार्वजनिक आधिकारिक प्रतिक्रिया दिएको छैन । यसअघि कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा एक भीषण आक्रमण भएको थियो, जसमा एक जनाको मृत्यु हुनुका साथै ६० जनाभन्दा बढी घाइते भएका थिए ।

इरानको ‘इस्लामिक रिभोल्युसन गार्ड कर्प्स’ (आईआरजीसी) ले उक्त विमानस्थल हमलामा आफ्नो संलग्नता अस्वीकार गरेको छ । इरानको दाबी अनुसार अमेरिकी मिसाइल इन्टरसेप्टर (प्रतिरोधी प्रणाली) को गल्तीका कारण विमानस्थलमा क्षति पुगेको हो ।

तर, अमेरिकी सेन्ट्रल कमान्डले इरानको उक्त दाबीलाई पूर्ण रूपमा खारेज गरिदिएको छ । सेन्टकमले इरानले विमानस्थलमा ‘सुनियोजित र विनाकारण आक्रमण’ गरेको आरोप लगाएको छ ।उल्लेखनीय छ कि यी दुई देशबिच जारी तनाव र युद्ध अन्त्य गर्ने विषयमा हालसम्म कुनै पनि सहमति वा सम्झौता हुन सकेको छैन ।