काठमाडौं - रुसका राष्ट्रपति भ्लादीमिर पुटिनले युक्रेनका राष्ट्रपति भोलोदोमिर जेलेन्स्कीसँग भेटेर युद्ध अन्त्य गर्ने विषयमा छलफल गर्नुको अहिले कुनै अर्थ नभएको बताएका छन् । जेलेन्स्कीले युद्ध अन्त्यका लागि प्रत्यक्ष वार्ताको प्रस्ताव राखेपछि पुटिनले उक्त प्रस्ताव अस्वीकार गरेका हुन् ।
जेलेन्स्कीले बिहीबार खुला पत्र लेख्दै युद्ध रोक्न प्रत्यक्ष वार्ताको आह्वान गरेका थिए । उनले युद्धलाई अमेरिका फेरि प्राथमिकतामा ल्याउने समय कुर्नु ‘गलत’ हुने बताएका थिए । उनले तत्काल युद्धविरामको पनि माग गरेका थिए, तर उनको भाषामा आक्रामक र व्यंग्यात्मक शैली देखिएको थियो ।
यसको जवाफमा पुटिनले पत्रलाई ‘असभ्य’ भनेका छन् र पहिले शान्ति वार्ता हुनुपर्ने अडान दोहोर्याएका छन् । उनका अनुसार जेलेन्स्कीको पत्रले भेटवार्ताका लागि वातावरण बनाउने होइन, बरु त्यस्तो भेट हुन नदिने उद्देश्य राखेको देखिन्छ । जेलेन्स्कीले भने पुटिनको जवाफपछि रुसले फेरि पनि युद्ध रोजेको आरोप लगाएका छन् ।
उनले टेलिग्राममा लेख्दै भनेका छन्–धेरै देशहरू यो जवाफबाट निराश भएका छन् । पुटिनले युद्धविरामले युक्रेनलाई पुनः तयारी गर्ने मौका मात्र दिने बताएका छन् । उनले दीर्घकालीन सम्झौता आवश्यक रहेको उल्लेख गर्दै भने, ‘विशेषज्ञहरूले समाधान निकाल्नु पर्छ, त्यसपछि मात्र भेट हुन सक्छ ।’
रुसले लामो समयदेखि युक्रेनलाई डोनेत्स्क, लुहान्स्क, खेरसोन र जापोरिजिया क्षेत्र छोड्नु पर्ने र नाटोमा प्रवेशको प्रयास त्याग्नुपर्ने माग गर्दै आएको छ ।
तर युक्रेनले कुनै पनि भूभाग नछोड्ने अडान लिएको छ । जेलेन्स्कीले आफ्नो पत्रमा पुटिनको उमेर र शासनकालबारे टिप्पणी गर्दै व्यक्तिगत आलोचना पनि गरेका थिए, जसलाई पुटिनले ‘असभ्य टिप्पणी’ भनेका छन् । यसैबीच अमेरिका र अन्य केही देशहरूले सम्भावित वार्तालाई सकारात्मक संकेतका रूपमा हेरेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले दुई नेताबीच भेट हुनु राम्रो हुने बताएका छन् । युद्धका क्रममा पछिल्लो २४ घण्टामा युक्रेनमा भएका रूसी आक्रमणहरूमा कम्तीमा १३ जनाको मृत्यु भएको र ७० भन्दा बढी घाइते भएको रिपोर्ट गरिएको छ ।


0 comment