काठमाडौं - कागेश्वरी मनोहरा नगर अस्पताललाई आधुनिक तथा सुविधासम्पन्न १०० शय्याको जनरल अस्पतालका रूपमा विकास गर्ने प्रक्रिया तीव्र रूपमा अघि बढेको छ। अस्पतालको स्तरोन्नति तथा आवश्यक पूर्वाधार विकासका लागि करिब १ अर्ब २९ करोड रुपैयाँ लागत अनुमान गरिएको गुरुयोजना स्वीकृत भएसँगै स्रोत व्यवस्थापनका लागि नगरपालिकाले पहल थालेको छ।
यसै क्रममा कागेश्वरी मनोहरा नगरपालिकाका नगर प्रमुख उपेन्द्र कार्कीको नेतृत्वमा अस्पतालका कार्यकारी निर्देशक तथा प्राविधिकहरूको विशेष टोलीले बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँसँग भेट गरी परियोजना समेत पेस गर्दै कार्यान्वयनका लागि आवश्यक आर्थिक स्रोत जुटाइदिन आग्रह गरेको छ। टोलीले मुख्यमन्त्रीसमक्ष अस्पताल स्तरोन्नतिसम्बन्धी विस्तृत लागत अनुमान, ड्रइङ तथा डिजाइनसमेत प्रस्तुत गरेको थियो।
गत वैशाख २० गते बसेको अस्पताल व्यवस्थापन तथा सञ्चालन समितिको बैठकले अस्पताल स्तरोन्नतिको गुरुयोजना स्वीकृत गरेको थियो। स्वीकृत योजनाअनुसार हालको बजार मूल्याङ्कनका आधारमा अस्पताललाई १०० शय्यामा विस्तार गर्न तथा आवश्यक आधुनिक पूर्वाधार निर्माण गर्न करिब १ अर्ब २९ करोड रुपैयाँ खर्च लाग्ने अनुमान गरिएको छ।
नगर प्रमुख कार्कीले स्वीकृत गुरुयोजनालाई पूर्ण रूपमा कार्यान्वयन गर्न विभिन्न स्रोतहरूको खोजी तथा व्यवस्थापनमा नगरपालिका प्रतिबद्ध रहेको बताए। उनले कागेश्वरी मनोहरा नगर अस्पताललाई आधुनिक, सुविधासम्पन्न तथा नेपालकै नमुना जनरल अस्पतालका रूपमा विकास गर्ने लक्ष्यसहित नगरपालिका दृढतापूर्वक अघि बढिरहेको उल्लेख गरे।
नगरपालिकाले यस परियोजनालाई उच्च प्राथमिकतामा राखेको जनाउँदै प्रदेश सरकार तथा अन्य सम्भावित दातृ निकायहरूसँग समन्वय गरी आवश्यक बजेट सुनिश्चित गर्ने तयारी गरिरहेको छ। अस्पताल स्तरोन्नति सम्पन्न भएपछि कागेश्वरी मनोहरा नगरपालिकासहित आसपासका क्षेत्रका नागरिकले स्थानीयस्तरमै गुणस्तरीय, सुलभ तथा अत्याधुनिक विशेषज्ञ स्वास्थ्य सेवा प्राप्त गर्ने विश्वास गरिएको छ।
आफ्नो सेवा र पूर्वाधारमा व्यापक सुधार गर्दै केही समय अघिमात्रै १०० शैयाको जनरल अस्पतालमा स्तरोन्नति हुने स्वीकृति पाएको हो। कुनै समय दैनिक १३० जना मात्र सेवाग्राही आउने यस अस्पतालमा हाल सेवाको गुणस्तर बढेसँगै दैनिक एक हजारभन्दा बढी नागरिकहरू सेवा लिन आउने गरेका छन्। अस्पतालले २८ जना विशेषज्ञ चिकित्सकहरू मार्फत २४सै घण्टा ईमर्जेन्सी तथा एमडिजिपी सेवा दिइरहेको छ।
नगर प्रमु कार्कीको दूरदर्शी दृष्टिकोण र सक्रिय नेतृत्वको कारण यस अस्पतालको सेवा प्रवाह र पूर्वाधारमा अभूतपूर्व कायपलट भएको हो । नगर प्रमुखको प्रत्यक्ष मार्गदर्शनमा अस्पताल सञ्चालन, सामाजिक सेवा एकाइ, फार्मेसी र शवगृह सम्बन्धी ४ वटा नयाँ कार्यविधि स्वीकृत गरी कार्यान्वयनमा ल्याइएको छ भने कर्मचारीको आचरण सुधार, डिजिटल ई-अटेन्डेन्स, सीसीटीभी अनुगमन र टोकन प्रणाली मार्फत सेवालाई प्रविधिमैत्री र पारदर्शी बनाइएको छ । स्वास्थ्य बीमा दाबी अस्वीकृत हुने दरलाई ३० प्रतिशतबाट ५ प्रतिशतमा झारिएको छ ।

.jpg)
0 comment