काठमाडौं - सांसदहरुको विरोधका कारण राष्ट्रियसभा बैठक बुधबारसम्मका लागि स्थगित भएको छ ।  मंगलबार बैठक सुरु हुनेबितिकै भारतको सीमा मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्तिबारे आपत्ति जनाउँदै सांसदहरूले विरोध जनाएपछि राष्ट्रियसभा बैठक बुधबारम्मका लागि स्थगित भएको हो ।

 बैठकको शुरूमै आकस्मिक समय माग गर्दै राष्ट्रियसभा सदस्य तुलप्रसाद विश्वकर्माले प्रधानमन्त्री स्वयं उपस्थित भएर उक्त अभिव्यक्ति फिर्ता लिदै माफी माग्नुपर्ने माग गरे। उनले नेपाल–भारत सीमा विवादलाई अन्त्य गर्न पहल गर्नुपर्नेमा उल्टै नेपालले भारतको भूमि मिचेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति नेपाल र नेपालीमाथि ठूलो दुर्भाग्य भएको बताए ।

त्यस्तै अन्य सदस्यहरुले पनि प्रधानमन्त्रीको सम्बोधनका सन्दर्भमा स्पष्ट पार्न माग गरेका थिए । आकस्मिक समयपछि सदस्यहरुले उभिएर विरोध जनाएपछि राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले कार्यसूचीलाई अघि बढाउनका लागि सहयोग गर्न आग्रह गरेका थिए । तर राष्ट्रियसभा सदस्यहरुले निरन्तर विरोध जनाएपछि अध्यक्ष दाहालले बुधबारसम्मका लागि बैठक स्थगित गरे।