काठमाडौं - काठमाडौंको गोकर्णेश्वर नगरपालिकाका विभिन्न वडामा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि नगरपालिकाले नगरवासीलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।

नगरपालिकाको वडा नं. २ र ३ सहित चार स्थानमा बर्ड फ्लू संक्रमण पुष्टि भएपछि संक्रमित कुखुरा नष्ट गर्ने र सुरक्षित रूपमा पुर्ने काम भइरहेको नगर प्रमुख दीपक रिसालले बताएका छन्।

संक्रमण थप फैलिन नदिन नगरपालिकाको विशेष टोली र पशु सेवा विभागका प्राविधिकहरू खटिएर संक्रमित कुखुरा नष्ट गर्ने, प्रभावित क्षेत्रको अनुगमन गर्ने तथा नगरवासीलाई संक्रमित कुखुराको मासु नखान आग्रह गरेको उनले बताए।

नगर प्रमुख रिसालले बर्ड फ्लूका कारण किसानले ठूलो क्षति व्यहोर्नुपरेको उल्लेख गर्दै प्रभावित किसानलाई क्षतिपूर्ति उपलब्ध गराउन सम्बन्धित निकायसँग समन्वय र पहल भइरहेको जानकारी दिए।  संक्रमण पूर्ण रूपमा नियन्त्रणमा नआउँदासम्म नगरपालिकाको टोली फिल्डमै खटिने उनले जानकारी दिए।

नगरपालिकाले कृषि तथा पशुपालन क्षेत्रलाई सुरक्षित राख्न आवश्यक सतर्कता अपनाइरहेको पनि उनले बताए। संक्रमित कुखुरालाई पशु चिकित्सकको परामर्शमा नष्ट गरी सुरक्षित रूपमा पुर्ने काम भइरहेको नगरपालिकाले जनाएको छ।

नगरपालिकाले आफ्नो वा छिमेकीको फार्ममा कुखुरा अस्वाभाविक रूपमा बिरामी परेमा वा मरेमा तत्काल जानकारी गराउन आग्रह पनि गरेको छ। लक्षण देखिएका कुखुरालाई अन्यत्र ओसारपसार नगर्न तथा संक्रमित कुखुराको मासु उपभोग नगर्न पनि अनुरोध गरिएको छ।

नगरपालिकाले संक्रमण नियन्त्रणका लागि चालिएका कदमहरूमा सहयोग गर्न ,कुखुरा फार्ममा काम गर्ने व्यक्तिहरूलाई मास्क, पञ्जा र बुटको अनिवार्य प्रयोग गर्न तथा जैविक सुरक्षाका मापदण्ड पालना गर्न नगरपालिकाले आग्रह गरेको छ।