काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आइतबार संसद् बैठकमा अप्रत्याशित रूपमा उपस्थित भई सांसदहरूको प्रश्नको जवाफ दिएका छन्। बैठकमा प्रधानमन्त्री आउने पूर्वसूचना नभएको अवस्थामा उनी स्वयंले प्रश्नको जवाफ दिन इच्छा व्यक्त गरेपछि केही समय प्रश्नोत्तर कार्यक्रम सञ्चालन भएको थियो।

बैठकका क्रममा प्रधानमन्त्री रोष्ट्रममा उभिएर सांसदहरूले उठाएका विभिन्न जिज्ञासाको संक्षिप्त जवाफ दिएका थिए। प्रश्नोत्तर सकिएलगत्तै उनी सदनबाट बाहिरिएका हुन्।

प्रधानमन्त्री संसद्मा उपस्थित भएर जवाफ दिने विषयमा अधिकांश सांसदलाई पूर्वजानकारी थिएन। बैठकमा उपस्थित भएका प्रधानमन्त्रीले हात उठाउँदै “म सांसदहरूले उठाएका प्रश्नको जवाफ दिन्छु” भनेपछि प्रश्नोत्तर कार्यक्रम सुरु भएको थियो।

विपक्षी दलहरूले भने प्रधानमन्त्रीसँग अझ धेरै प्रश्न गर्न बाँकी रहेको भन्दै सबै सांसदलाई प्रश्न राख्ने अवसर दिनुपर्ने माग गरेका छन्। “हामी प्रधानमन्त्रीको अनुहार हेर्न मात्र आएका होइनौं, जनताका चासोका विषयमा जवाफ खोज्न आएका हौं,” विपक्षी सांसदहरूको भनाइ थियो।

प्रधानमन्त्रीलाई सदनमा उभिएर जवाफ दिन विपक्षी दलहरूको चर्को दबाब दिँदै आएका थिए। यद्यपि, प्रश्नोत्तर कार्यक्रम सीमित समयमै टुंगिएको भन्दै विपक्षी पक्षले असन्तुष्टि जनाएको छ।

यसैबीच, एमाले सांसद ऐन महरले संसदीय नियमावलीअनुसार प्रधानमन्त्रीको उपस्थितिबारे कम्तीमा तीन दिनअघि जानकारी गराउनुपर्ने व्यवस्था रहेको स्मरण गराए। उनका अनुसार नियमावलीले १५ जनासम्म सांसदलाई प्रश्न गर्ने अवसर दिने व्यवस्था गरेको भए पनि त्यसअनुसार प्रक्रिया पालना नभएको देखिएको छ।

प्रधानमन्त्रीको आकस्मिक उपस्थितिले सदनमा केही समय उत्साह र चासो बढाए पनि प्रश्नोत्तरको सीमित दायराले राजनीतिक बहसलाई थप तीव्र बनाएको छ। विपक्षी दलहरूले प्रधानमन्त्रीसँग विस्तृत जवाफदेहिताको माग जारी राख्ने संकेत गरेका छन्।