काठमाडौं - सम्पत्ति शुद्धीकरण, ठगी तथा आपराधिक विश्वासघातसम्बन्धी मुद्दामा फरार रहेकी टिकटककर तुलसी अधिकारी थाइल्यान्डबाट पक्राउ परेकी छन्। नेपाल प्रहरीको इन्टरपोल शाखाको समन्वयमा थाइल्यान्डमा पक्राउ परेकी अधिकारीलाई शनिबार राति काठमाडौं नेपाल ल्याइएको छ। जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी गौतम मिश्रका अनुसार अधिकारीलाई हाल परिसरको हिरासतमा राखिएको छ।
आज सार्वजनिक बिदा परेकाले सोमबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराइनेछ एसपी मिश्रले बताए। प्रहरीका अनुसार अधिकारीविरुद्ध ६ करोड ५२ लाख २९ हजार ७५ रुपैयाँ ठगी गरेको आरोपमा जिल्ला अदालत ललितपुरमा मुद्दा दर्ता भइसकेको छ। ‘हनी ट्र्याप’ तथा ठगीसम्बन्धी उजुरीका आधारमा उनीमाथि अनुसन्धान सुरु गरिएको छ।
अनुसन्धानका क्रममा अधिकारीको बैंक खातामा ठूलो परिमाणमा रकम कारोबार भएको विवरण फेला परेपछि प्रहरीले ठगीसँगै सम्पत्ति शुद्धीकरणतर्फ पनि अनुसन्धान अघि बढाएको छ।


0 comment