काठमाडौं - अछामको पञ्चदेवल बिनायक नगरपालिका-४ थापामोड स्थित मध्यपहाडी राजमार्गमा गए राति जिप दुर्घटना हुँदा दुई जनाको मृत्यु र तीन जना घाइते भएका छन् ।

दार्चुलादेखि जुम्ला जाँदैगरेको, सत्लोक आश्रम, जनकपुरको बाप्र ०१-०२७ च २२७७ नम्बरको जिप सडकबाट करिब २०० मिटर तल खसेको थियो ।

दुर्घटनामा घाइते हुनुभएका मकवानपुर, हेटौँडा उपमहानगरपालिका बस्ने वर्ष ४१ को नवीन तुलाधर र बर्दिया बाँसघारी नगरपालिका-५ बस्ने ४५ वर्षका रामप्रकाश थारूको उपचारका क्रममा प्रादेशिक अस्पताल सुर्खेतमा मृत्यु भएको अछाम प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

उनका अनुसार घाइते सिराहा कल्याणपुर नगरपालिका–१० बस्ने २७ वर्षका सन्तकुमार साह, स्याङ्जा फेदीखोला गाउपालिका-४ बस्ने  अर्जुनकुमार पौडेल र जिप चालक नेपालगञ्ज उपमहागरपालिका-५ बस्ने २८ वर्षे राज राजेन्द्र भिमराज चट्टान गुप्ताको उपचार भइरहेको छ ।

घाइतेहरुको बेलखेतबाट खटिएको प्रहरी टोलीले तत्काल उद्धार दैलेखको राकमस्थित राकम कर्णाली आधारभूत अस्पतालमा पुर्याएको थियो । उहाँहरुको उक्त अस्पतालमा प्राथमिक उपचार पछि थप उपचारका लागि सुर्खेत रेफर गरिएको थियो ।