काठमाडौं - सरकारले खेलकुद पूर्वाधारलाई युवा विकास र स्थानीय अर्थतन्त्रसँग जोड्दै देशैभर आधुनिक खेल संरचनाहरू निर्माण गर्ने महत्त्वकाङ्क्षी योजना अघि सारेको छ। अर्थमन्त्री डा . स्वर्णिम वाग्लेले आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै आगामी ३ देखि ५ वर्षभित्र सम्पन्न गर्ने गरी विभिन्न रङ्गशाला, इन्डोर स्टेडियम र राष्ट्रिय खेलकुदका लागि बजेट विनियोजन गरिएको जानकारी दिए।

१० वटा फुटबल रङ्गशालाको स्तरोन्नति र फ्लड लाइट जडान

मन्त्री वाग्लेका अनुसार खेलकुद क्षेत्रको विकासका लागि आगामी तीन वर्षभित्र कम्तीमा ८ हजार दर्शक क्षमता भएका १० वटा फुटबल रङ्गशालाहरूलाई फ्लड लाइट (Floodlights) सहित स्तरोन्नति गरिनेछ। यसबाट रात्रिकालिन खेलहरू सञ्चालन गर्न सजिलो हुने र खेल पर्यटनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ।

५ वर्षभित्र ८ सहरमा आधुनिक क्रिकेट रङ्गशाला


नेपाली क्रिकेटको बढ्दो क्रेज र सफलतालाई मध्यनजर गर्दै सरकारले आगामी पाँच वर्षभित्र देशका प्रमुख आठवटा सहरहरूमा आधुनिक क्रिकेट रङ्गशाला निर्माण गर्ने घोषणा गरेको छ। यसैगरी, मूलपानी क्रिकेट रङ्गशाला तथा एकेडेमी र गिरिजाप्रसाद कोइराला क्रिकेट रङ्गशाला निर्माणका लागि उपयुक्त लगानी र सञ्चालन मोडालिटी तयार पारिने मन्त्री डा. वाग्लेले बताए।

७ स्थानमा इन्डोर मल्टिपल स्टेडियम

इन्डोर खेलहरूलाई प्रवर्द्धन गर्न आगामी ३ वर्षभित्र देशका विभिन्न सातवटा प्रमुख स्थानहरूमा कम्तीमा २ हजार दर्शक क्षमताका इन्डोर मल्टिपल स्टेडियम (Indoor Multiple Stadium) निर्माण गरिने भएको छ। विराटनगर, लहान, काठमाडौँ, पोखरा, बुटवल, सुर्खेत र धनगढीमा  यस्ता स्टेडियमहरू निर्माण गरिनेछन्।

१०औँ र ११ौँ राष्ट्रिय खेलकुदका लागि बजेट

कर्णाली प्रदेशको सुर्खेतमा आयोजना हुने दशौँ राष्ट्रिय खेलकुदलाई भव्यताका साथ सम्पन्न गर्न र मधेस प्रदेशमा प्रस्तावित एघारौँ राष्ट्रिय खेलकुदका लागि आवश्यक खेल पूर्वाधारहरू बेलैमा निर्माण गर्न सरकारले आवश्यक रकम छुट्ट्याएको छ।

समग्र खेलकुद क्षेत्रको संस्थागत विकास, प्रतियोगिता सञ्चालन र पूर्वाधार निर्माणका लागि सरकारले आगामी आर्थिक वर्षका लागि रु. ४ अर्ब ३ करोड बजेट विनियोजन गरेको मन्त्री डा. वाग्लेले जानकारी दिए।