काठमाडौं - सरकारले देशभरका सडकहरूलाई खाल्टाखुल्टी र धुलोमुक्त बनाउन तथा व्यवस्थित सहरीकरणका लागि ठूलो परिमाणमा बजेट विनियोजन गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आगामी बजेट प्रस्तुत गर्दै काठमाडौँ उपत्यकासहित देशका प्रमुख सहरहरूको सौन्दर्यीकरण र पूर्वाधार विकासका आगामी योजनाहरू सार्वजनिक गरेका हुन्।
मन्त्री वाग्लेका अनुसार काठमाडौँ उपत्यका लगायत देशका प्रमुख सहरी सडकहरूको नियमित मर्मत सम्भार गरी धुलोमुक्त र खाल्टाखुल्टी मुक्त बनाइनेछ। यस कार्यलाई 'राष्ट्रव्यापी सडक मर्मत सम्भार अभियान' का रूपमा सञ्चालन गर्न सरकारले रु. २८ अर्ब ५२ करोड विनियोजन गरेको छ।
यसैगरी, मनसुन र जलवायु परिवर्तनका कारण राजमार्गका उच्च जोखिमयुक्त स्थानहरूमा हुने अवरोधलाई तत्काल हटाई यातायात सेवा सुचारु राख्नका लागि रु. ३ अर्ब १७ करोड छुट्ट्याइएको छ। उनले महिलाहरूको सुरक्षित आवागमन (Safe Transit) सुनिश्चित गर्न सार्वजनिक यातायात सेवा सञ्चालनका लागि आवश्यक व्यवस्था मिलाइने समेत स्पष्ट पारे।
मध्यपहाडी लोकमार्गमा १२ नयाँ सहर: १ अर्ब ८३ करोड विनियोजन
पहाडी क्षेत्रबाट हुने बसाइँसराइ रोक्न र व्यवस्थित बसोबास विकास गर्न मध्यपहाडी (पुष्पलाल) लोकमार्ग आसपासका १२ स्थानमा नयाँ सहर (नयाँ वैचारिक सहरहरू) निर्माण गरिने भएको छ। ती प्रस्तावित सहरहरूमा जग्गा विकास (Land Pooling) र पूर्वाधार निर्माण कार्यलाई निरन्तरता दिन सरकारले रु. १ अर्ब ८३ करोड बजेट व्यवस्था गरेको छ।


0 comment