काठमाडौंमुस्ताङको जोमसोमस्थित कालीगण्डकी तटमा निर्माण गरिएको २२ फिट अग्लो शालिग्रामको प्रतिमा धार्मिक विधिपूर्वक उद्घाटन गरिएको छ।

दक्षिण भारत, कर्नाटक राज्यस्थित प्रसिद्ध शृङ्गेरी शारदा पीठका जगत्गुरु शङ्कराचार्य श्री श्री विधुशेखर भारती महास्वामीजीले प्रतिमाको उद्घाटन गर्दै कालीगण्डकी क्षेत्र सनातन धर्मावलम्बीहरूको आस्थाको केन्द्र भएको बताउनुभयो।

मुक्तिनाथ दर्शनका क्रममा मुस्ताङ पुग्नुभएका उहाँले शालिग्रामलाई भगवान् विष्णुको प्रतीकका रूपमा श्रद्धापूर्वक पूजिने भएकाले यसको संरक्षण र प्रवर्द्धन आवश्यक रहेको धारणा व्यक्त गर्नुभयो।

उहाँले कालीगण्डकीबाट प्राप्त हुने शालिग्राम विश्वभरका हिन्दू धर्मावलम्बीका लागि विशेष महत्व बोकेको उल्लेख गर्दै मुस्ताङ धार्मिक पर्यटनको दृष्टिले अझ आकर्षक गन्तव्य बन्न सक्ने बताउनुभयो।

घरपझोङ गाउँपालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन साताअघि सञ्चालन गरिएको मूर्तिकला कार्यशालामा ३० भन्दा बढी मूर्तिकार सहभागी भएका थिए। उनीहरूले कालीगण्डकी नदीका विशाल ढुङ्गालाई विभिन्न कलात्मक स्वरूप दिएका थिए।

घरपझोङ गाउँपालिका अध्यक्ष मोहनसिंह लालचनले पालिका र एकीकृत सामाजिक विकास कार्यालयको संयुक्त आयोजना तथा नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानको समन्वयमा तीन साता अघि मूर्तिकला कार्यशाला सञ्चालन गरिएको बताउनु भयो । उहाँका अनुसार प्रज्ञा प्रतिष्ठानमा आबद्ध ३० भन्दा बढी मूर्तिकारहरूले कालीगण्डकी नदीका विशाल ढुङ्गाहरूलाई  मूर्तिको स्वरुप दिइएको हो । सोही मध्ये ठुलो आकारको शालिग्रामको  महास्वामीजीबाट औपचारिक उद्घाटन गरिएको अध्यक्ष लालचनले जानकारी दिनुभयो । उक्त शालिग्रामको स्थापनासँगै यस क्षेत्रको धार्मिक पर्यटन प्रवद्र्धन हुने अपेक्षा गरिएको छ ।