काठमाडौं - उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि  चीनका राजदूत चाङ माओमिङबीचले बुधबार लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा उनीहरूबीच शान्तिपूर्ण सहअस्तित्व, आपसी सम्मान र दीर्घकालीन मैत्रीमा आधारित नेपाल–चीन  सम्बन्ध, आर्थिक सहयोग तथा भावी सहकार्यका विषयमा विचारविमर्श भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ ।

उपराष्ट्रपति यादवले बितेका चार दशकमा चीनले हासिल गरेको प्रगतिको सराहना गर्दै दुई देशबीच व्यापार, पर्यटन, पूर्वाधार, ऊर्जा र प्रविधि हस्तान्तरणमा चिनियाँ  साझेदारी आवश्यक भएकामा जोड दिए।

राजदूत चाङ माओमिङले चीन र नेपालबीचको सम्बन्धलाई नयाँ उचाइमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताए । नेपालसँगको सम्बन्धलाई चीनले उच्च प्राथमिकता दिएको चर्चा गर्दै उहाँले दुवै देशका जनताको समृद्धिका निम्ति आफू क्रियाशील रहने बताए ।