काठमाडौं - भारत सरकार सहयोगमा ८ जिल्लामा १४ वटा विद्यालय निर्माणका लागिसम्झौतामा हस्ताक्षर भएको छ। शिक्षा तथा खेलकुद मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यान्वयन इकाई (शिक्षा) ले गोरखा, नुवाकोट, धादिङ, दोलखा, काठमाडौं, काभ्रेपलाञ्चोक, रामेछाप र सिन्धुपाल्चोक जिल्लामा निर्माण गरिने विद्यालयका लागि ठेकेदार कम्पनीहरूसँग सम्झौता गरेको हो।

नेपालमा सञ्चालित भारत सरकारको भूकम्पपछिको पुनर्निर्माण सहायताकै हिस्साको रुपमा ५६ करोड २ लाख अनुदान सहयोगमा १४ विद्यालयका भवन निर्माण गर्न लागिएको भारतीय राजदूतावासले जनाएको छ।

सम्झौतामा हस्ताक्षर कार्यक्रममा भारतीय राजदूतावासका विकास साझेदारी एवम् पुनर्निर्माण प्रभागका काउन्सलर, केन्द्रीय आयोजना कार्यान्वयन इकाईका आयोजना निर्देशक, इकाईका अधिकारीहरु तथा ठेकेदारका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

भारतीय राजदूतावासका अनुसार विद्यालयहरु नेपाल सरकारको भूकम्प प्रतिरोधी पुनर्निर्माण सम्बन्धी मापदण्ड बमोजिम निर्माण गरिनेछन्। विद्यालय पूर्वाधारमा शैक्षिक भवन, फर्निचरसहितका कक्षाकोठाहरु तथा छात्र एवम् छात्राका लागि छुट्टाछुट्टै सरसफाइका संरचनाहरु रहनेछन्।

भारत दूतावासका अनुसार भूकम्पपछिको पुनर्निर्माण अनुदान अन्तर्गत ८ वटा जिल्लाका ७० वटा विद्यालयहरु र त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयको निर्माण कार्य सम्पन्न भई सन् २०२४ जनवरीमा नेपाल सरकारलाई हस्तान्तरण भइसकेका छन्। भूकम्पपछिका पुनर्निर्माण परियोजनाहरु लगायत नेपालको सामाजिक–आर्थिक विकासका लागि नेपाल सरकार र यसका निकायहरुसँग निरन्तर सहकार्य गर्न भारत सरकार प्रतिबद्ध रहेको दूतावासले जनाएको छ।