काठमाडौं - हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायु तथा नेपालको पूर्वी भू–भाग नजिक रहेको न्यून चापीय क्षेत्रको प्रभाव रहेको छ ।
यसको प्रभाव रहँदा बुधवार काठमाडौं लगायत देशका विभिन्न स्थानमा हुरीका साथमा हल्का वर्षा भएको थियो ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत बाँकी हिमाली र पहाडी भूभागमा साधारणतया बादल लाग्नेछ तथा तराई भूभागमा आंशिक बादल लाग्नेछ । कोशी लगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भूभागका केही स्थानहरूमा, मधेस प्रदेश लगायत लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशको हिमाली र पहाडी भूभागका थोरै स्थानहरूमा तथा बागमती र गण्डकी प्रदेशका तराई भूभागका एक दुई स्थानमा मेघ गर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूर पश्चिम र लुम्बिनी प्रदेशका तराई भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ ।
महाशाखाका अनुसार आज राति देशभर साधारणतया बादल लाग्नेछ । बागमती, गण्डकी, लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा कोशी, मधेस, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
सुदूर पश्चिम कर्णाली र लुम्बिनी प्रदेशका तराई र पहाडी भू–भाग तथा बाँकी तराई भू–भागका थोरै स्थानहरूमा हुरीको पनि सम्भावना रहेको छ ।


0 comment