काठमाडौं - नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले सरकारी स्वामित्वको दूग्ध विकास संस्थान (डीडीसी) को कार्यालयबाट महत्वपूर्ण कागजात नियन्त्रणमा लिएको छ । सीआईबीका एसएसपी तथा प्रवक्ता शिवकुमार श्रेष्ठले डीडीसीबाट अनुसन्धानका लागि आवश्यक केही कागजातहरू नियन्त्रणमा लिएको बताए । 

 संस्थानले किसानको ५८ करोड रुपैयाँ बक्यौता भुक्तानी गर्न बाँकी छ । त्यसमध्ये १२ करोड रुपैयाँ भुक्तानी गरिएको डीडीसीको दाबी छ । डीडीसीले किसानबाट दूध संकलन गरी बजारमा बेच्दै आएको छ ।  

सरकारले डीडीसी सुधारका लागि भन्दै हालै संस्थानलाई ९ बुँदे निर्देशन दिएको थियो । कर्मचारीहरूले सित्तैमा उपभोग गर्दै आएको दूध र घिउको सुविधा तत्काल रोक्नसमेत सरकारले निर्देशन दिइसकेको छ ।

केही दिनअघि प्रधानमन्त्री बालेन्द्र शाहले डीडीसीबाट उत्पादित याक चिज खाएको तस्वीर सामाजिक सञ्जालमा सेयर गरेपछि डीडीसीको व्यापक प्रचार भएको थियो ।