काठमाडौं - श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले प्रतिनिधिसभा बैठक बहिष्कार गरेका छन् ।बुधबार बसेको बैठकमा अध्यक्ष साम्पाङले प्रधानमन्त्री बालेन शाहलाई सदनमा उपस्थित गराउन सभामुखले रुलिङ नगरेको भन्दै बैठक बहिष्कार गरेका हुन् ।

 त्यसअघि बैठक सुरु हुनेबितिकै उनले  सभामुखलले रुलिङ गरेर प्रधानमन्त्रीलाई ल्याउन माग गरे । नियमावलीको नियम १५ को २ अनुसार प्रधानमन्त्रीलाई सदनमा जवाफदेही बनाएर ल्याउन नसके नियमावलीको नियम ३१ को १ लागू गरेर आफूलाई सदनबाट निस्कासन गर्न अनुरोध गरे । उनले कि प्रधानमन्त्री शाहलाई सदनमा उपस्थित गराउन कि आफूलाई सदनबाट निष्कासन गर्न माग गरे।

साम्पाङले धारणा राखेपछि सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्रीको उपस्थितिको मागका विषयमा आफ्नो ध्यानाकर्षण भएको भन्दै बस्न आग्रह गरेका थिए। सभा सञ्चालनका लागि सभामुखलाई निर्देशन दिने अभ्यास नभएको भन्दै उनले नेपालको संविधान, कानून र ऐन अनुसार आवश्यक निर्णय लिने जिम्मेवारी सभामुखको भएको स्मरण गराए ।

प्रधानमन्त्रीको उपस्थितिको लागि सभामुखले रुलिङ नगरेपछि अध्यक्ष साम्पाङले बैठक बहिष्कार गरेका हुन् । उनले बैठक बहिष्कार गरेपनि श्रम संस्कृतिका अन्य सांसदहरु भने बैठकमै सहभागि छन् ।